राजधानी तोकिएपछि कैलालीको तेघरी वन अतिक्रमण तीव्र - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राजधानी तोकिएपछि कैलालीको तेघरी वन अतिक्रमण तीव्र



कैलाली । तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगल क्षेत्रमा राजधानी बनाउने घोषणा गरेपछि बाढीपीडित र सुकुमबासीहरू सामुदायिक र राष्ट्रिय वन मासेर बस्नयोग्य जमिन बनाउन जुटेका हुन्।

वन छेउ बसेका बाढीपीडित र सुकुमबासी अहिले जंगलको सिमाना मिच्दै अगाडि बढिरहेको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमराज भण्डारीले बताए। ‘बाढीपीडित र सुकुमबासीका नाममा टहरो बनाएकाहरूले अहिले सात बिघाभन्दा बढी जंगल क्षेत्र कब्जा गरिसकेका छन्,’ उनले भने, ‘जंगल मिच्दै रातारात खोरिया बनाउन थालेका छन्।’

उनीहरूले नातेदारलाई समेत ल्याएर वन मासेर बस्ती बसाल्ने योजना बनाएको उनले बताए। उनले भने, ‘टहरो मात्रै बनाएर बसेकाहरू खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन बढाउन थालेका छन् ।’ एउटैले दुई÷चार कठ्ठा जमिन मिचेको उनले बताए।

वन अतिक्रमणबारे वन कार्यालय र गोदावरी नगरपालिका कार्यालयमा पटकपटक उजुरी गर्दा पनि सुनुवाइ नभएको भण्डारीले बताए। उनले भने, ‘वन अतिक्रमणकारीलाई कसैले पनि उठाउने साहस गर्दैनन्।’ स्थानीय रामचन्द्र अवस्थीले राजनीतिक दल, सामुदायिक वनका अध्यक्षलगायतको मिलेमतोमा बाढीपीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भएको बताए। उनले भने, ‘बाढीपीडित र सुकुमबासीका नाममा वन क्षेत्र मिचिएको छ। यस कार्यमा राजनीतिक दलको संरक्षणसमेत देखिएको छ।’

अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमणमा परेको उनले बताए। ‘अत्तरिया बजार क्षेत्रको सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन अतिक्रमणमा परेको छ,’ उनले भने, ‘अतिक्रमित क्षेत्रमा जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षलगायतका व्यक्तिले कुनै चासो नदेखाउँदा उनीहरुकै मिलेमतो भएको जनताले बुझेका छौं।’

चौकीडाँडाका वडा अध्यक्ष मोहन खत्रीले अतिक्रमित वनबारे नगरपालिकासँग कुराकानी भइरहेको बताए । गोदावरी नगरपालिका क्षेत्रको चौकीडाँडा महिला सामुदायिक वन, सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन, तेघरी सामुदायिक वनलगायतका सामुदायिक वन अतिक्रमणमा परेको इलाका वन कार्यालय अत्तरियाका सहायक वन अधिकृत शेरबहादुर भण्डारीले बताए। नागरिक दैनिकमा खबर छ ।