उडान - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

उडान



-सुमिना अभिलाषी

आडम्बरले कुल्चिदा मेरो कोमलता
कसै गरि
तेरो अभिमानको पैतला दुख्यो भने

मेरो स्वाभिमान झुकाउन
उठेका तेरा आँखाहरूमा
कसै गरि
मेरा आँखा निडर टकराए भने

सम्झनु

तेरा औंलाका इसाराहरू नकार्दै
तेरो तालको नृत्यमा लिन भएर
कदापी नाच्ने छैनन् अब कठपुतलिहरू

सम्झे हुन्छ
अब तेरो साम्राज्य धरापमा छ
बृद्धअवस्थामा पुगि
असाहाय भएर लर्खराइरहेछ !

सदियौ देखि
सिरोपर्य भएका तेरा हैकमहरू

सदियौ देखि
मान्य भएका तेरा आदेशहरू

यदि कतै
लडकार्यो भने उन्मुक्तिले
सम्झे हुन्छ
त्यहीँबाट बल्न सुरु गरिरहेछ
बिद्रोहको मधुर झिल्का
र गरिरहेछ बिधंसको अपिल

तेरो मानसिकता
मेरो मानसपटलमा लिन भएन भने
त्यही हुनेछ एउटा सशक्त द्वन्द
बिचार- बिचारले प्रतिकार गरि
कतै फिर्ता पठायो भने
सम्झे हुन्छ
त्यहिँबाट हुनेछ
बहिस्कारको उदय
तेरो कथित
अहंकारी सामर्थको बिलय !

ए पित्री सत्तात्मक समाज
सम्झे हुन्छ
अब आजाद भइ सके
र भइ रहेछ्न् दिनहु
एक एक चरिहरू
तेरो पंहुचबाट
तेरो परिचाचलन बाट
तेरो सामाजिक परिधिको पिंजडाबाट
स्वच्छाचारी उडान भर्न
स्वतन्त्रताको निलो आकाशभरि ।