निर्मला हत्या प्रकरण : दबाबमूलक समूह दुई गुटमा विभाजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह दुई गुटमा विभाजित



कञ्चनपुर । तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन्। उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छन्।

सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा पार्न खोजेको भन्दै असन्तुष्ट स्थानीयले प्रदर्शन गरेका हुन् । ‘हाम्रो मुख्य माग निर्मलाका हत्यारालाई सार्वजनिक गरेर कारबाही हुनपर्छ भन्ने हो,’ नागरिक संघर्ष समितीका संयोजक मीना भण्डारीले भनिन्, ‘हत्यारा बचाउन प्रमाण नष्ट गर्नेलाई बर्खास्त गरेर मात्र समस्या समाधान हुँदैन ।’ हत्यारा बचाउन प्रमाण नष्ट गर्ने, निर्दोषलाई दोषी करार गर्नेलगायतका कतुर्त गर्ने प्रहरीले दोषीलाई जोगाउन चलखेल गरेकाले तिनीहरुमाथि अनुसन्धान हुनुपर्ने उनीहरुको भनाइ छ।

उच्चस्तरीय छानबिन समितीको प्रतिवेदनमा शंकास्पद भूमिकामा रहेको भनेर उल्लेख गरिएकालाई हिरासतमा लिएर अनुसन्धान नगरिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । ‘हत्यारालाई छिटो कारबाही गर्नुपर्छ भनेर अल्टिमेटमसहित प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएका छौं,’ भण्डारीले भनिन्, ‘हत्यारा पत्ता नलागे तिहारपछि आन्दोलन चर्काउँछौं।’ नागरिक दैनिकमा खबर छ ।

आन्दोलनमा दुई गुट
साउन १० गते साथी घरमा गएकी निर्मलाको शव फेला परेपछि आफन्त, स्थानीय र महिलाअधिकारकर्मीले साउन ११ गतेदेखि दोषीलाई पत्ता लगाउन आन्दोलन सुरु गरे । निर्दोष दीलिप बिष्टलाई प्रहरीले भदौ ४ गते दोषी भनेर सार्वजनिक गरेपछि भदौ ५ गतबाट चर्केको आन्दोलनमा गोली लागेर शनी खुनाको ज्यान गयो भने कयौं घाइते भए।

निर्मलाको हत्यारा पत्ता लगाउनु पर्छ भन्ने एउटै मागका लागि गरिएको आन्दोलन दुई गुटमा बाँडियो। सुरुका दिनमा निर्मला हत्या पत्ता लगाउन हेलन श्रेष्ठको संयोजकत्वमा गठन भएको संघर्ष समितिले अगुवाइ ग-यो। केही सातापछि भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भयो। एकले अर्कोको अस्तित्व नस्वीकार्ने दुई समितिमा बाँडिएका महिलाबीच द्वन्द्व भइरहेका बेला मीना भण्डारीको टीमका महिलाअधिकारकर्मीले निर्मलाकी बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई अर्को टिमका महिलालाई जानकारी नदिई भदौ २५ गते काठमाडौं लगेपछि यी दुई गुटको विवाद छताछुल्ल भयो।

निर्मलाका वुवा र आमासँग सम्पर्क गर्नै नदिई आफ्नो निहित स्वार्थका लागी काठमाडौं लगेको आरोप हेलेन श्रेष्ठको समूहको छ। हेलेन श्रेष्ठका समूहले जिल्लामै बसेर दबाब दिई अनुसन्धानलाई सहयोग गर्नुपर्नेमा राजनीतीकरण गर्न, दाताको प्रभावमा र घटना मोड्न काठमाडौं लगेको आरोप लगाए।

साउन ११ गते शव फेला परेको दिनदेखि निर्मलाको हत्यारा पत्ता लगाउन आन्दोलन थालेका महिलाअधिकारकर्मी, नागरिक समाज र संघसंस्था कसैलाई जानकारी नदिई निर्मलाका आमा दुर्गादेवी र बुवा यज्ञराजलाई केही महिलाअधिकारकर्मी सुटुक्क काठमाडौंमा लगेको संघर्ष समितिका संयोजक हेलन श्रेष्ठको भनाइ छ।

त्यसयता दुईटै समितिले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। भण्डारी समूह काठमाडौंमा रहेका बेला हेलेन श्रेष्ठको समूहले कालो साडी लगाएर महेन्द्रनगरमा तीज मनाए। केही साताअघि महेन्द्रनगरबाट हेलेन श्रेष्ठ संयोजक रहेको दबाबमूलक समितिले धनगढीमा प्रदर्शनसहित मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाए । सो प्रदर्शनमा मीना भण्डारीको समूहका सदस्य सहभागी भएनन्। सोमबार महेन्द्रनगरमा भएको प्रदर्शनमा भने श्रेष्ठ समूहको सहभागिता रहेन।

नागरिक समाज कञ्चनपुरका निर्मलालाई न्याय दिने आन्दोलनमा राजनीतिक, आर्थिकलगायतका स्वार्थ भएका व्यक्तिले खेल्न खोजिरहेको बताउँछन्। ‘केही आन्दोलनलाई राजनीतिक स्वार्थका लागी प्रयोग गर्न पनि खोजिरहेका छन्, केहीले अन्य स्वार्थ पनि लिन खाजेका छन्,’ उनी भन्छन्, ‘एक अर्काको अस्तित्व अस्वीकारे गरेर अलगअलग आन्दोलन गरिरहेका दुई समूहका कारण पर्दापछाडीबाट स्वार्थ लिनेलाई सहज भएको छ।’ निर्मलालाई न्याय दिलाउने कुरामा सबै स्थानीय एकमत भएको उनी बताउँछन्।

आफन्तले बुझेनन् क्षतिपूर्ति
प्रमुख जिल्ला अधिकारीले दुई पटक बोलाउँदा पनि सरकारले उपलब्ध गराएको क्षतिपूर्ती निर्मलाका बुवा यज्ञराज पन्तले बझ्न अस्वीकार गरेका छन्। ‘छोरीको हत्या पत्ता लगाउने कुरा मुख्य हो, क्षतिपूर्ति होइन। त्यसैले क्षतिपूर्ती नलिएको हुँ,’ निर्मलाका बुवा यज्ञराज पन्तले नागरिकसँग भने, ‘दुई पटक सिडिओले क्षतिपूर्ती लिन बोलाएका हुन् । मैले बुझेको छैन ।’ हत्यारा पत्ता लगाउनु मुख्य कुरा भएको उनले बताए।

अनुसन्धान उपलब्धि शून्य
निर्मला पन्तको शव फेलापरेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरिरहेकै बेला साउन १२ गते प्रहरी उपरीक्षक अंगुर जिसीको संयोजत्वको टोली अनुसन्धानका लागी पुग्यो । दीलिप निर्दोष भनेर प्रहरीले आन्दोलन चर्काएपछि भदौ ७ गते नयाँ एसपी कुवेर कडायत र डिएसपी कृष्ण ओझाले जिल्ला प्रहरीको कमान्ड सम्हालेर अनुसन्धान सुरु गरे । उच्चस्तरीय छानबिन समितिले भदौ ८ गतेबाट छानबिन सुरु ग¥यो । एसएसपी ठाकुरप्रसाद ज्ञवालीको संयोजकत्वमा सिआइवीको टोली पनि सक्रिय भयो । त्यसपछि एआईजी धिरु बस्नेतको नेतृत्वको ९ सदस्यीय छानबिन समिति बनायो । महिला एसपी दुर्गा सिंह नेतृत्व अर्को टोली पनि अनुसन्धानमा खटियो । एकपछि अर्को छानबिन समिति बने पनि निर्मलाको हत्याको अनसन्धानको उपलब्धी भने शून्य रहेको समितिमा रहेका प्रहरी अधिकारीले बताएका छन्।