बझाङमा नेपाल टेलिकमका सबै सेवा ठप्प , कर्मचारीले चासो दिएनन् ! - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

बझाङमा नेपाल टेलिकमका सबै सेवा ठप्प , कर्मचारीले चासो दिएनन् !



गणेश विक / बझाङ ।
बझाङमा नेपाल टेलिकमका सबै सेवा ठप्प भएका छन् । नेपालीहरुका महान चाडपर्वले गाउँबस्तिमा छाएका बेला बझाङ भने सञ्चार बिहीन भएको छ । आफन्त तथा मित्रजनसँग शुभकामना आदानप्रदान र खबर प्राप्त नहुँदा बझाङबासी टेलिकमप्रति आक्रोशित बनेका छन् ।

शुक्रबार ,शनिबार एक मिनेट आउने १० मिनेट हराउने गर्दथ्यो तर आइतबार भने बझाङमा रहेका सबै रिपिटर टावर निस्क्रिय बनेका छन् । जिल्लाका केही ठाउँमा अन्य जिल्लाका नेटवर्कले काम गरेपनि अधिकांश ठाउँमा फोन र इन्टरनेट दुवै ठप्प भएका छन् ।

केही ठाउँमा एनसिएल र स्मार्ट टेलिकम भएकाले उनीहरुलार्इ राहत भएको छ भने नेपाल टेलिकमका गाह्रकलार्इ सास्ती भएको छ ।

जिल्लामा सञ्चालित ६ वटा एफएम रेडियोलार्इ समाचार, सुचना प्राप्त गर्नदेखि कार्यक्रम सञ्चालन गर्न कठिन हुँदै आएको छ । पाँच महिनादेखि वार्तालेकमा रहेको टावरमा रेडियो लिङ्कमा समस्या आएको थियो । पटक पटक सुधार गरिदिन आग्रह गर्दा पनि टेलिकमका कर्मचारीले चासो नदेखाएको स्थानीय समिर बोहराले बताए ।

नेटवर्क नहुँदा आक्रोसित बनेका सेवाग्राहीले सिमकार्ड र फोनलाइन नै फिर्ता गर्नेसम्मका आक्रोस व्यक्त गर्न थालेका छन् । सुनिपिपल माविका शिक्षक नरेन्द्र उपाध्यायले सामाजिक सञ्जालमा आक्रोस व्यक्त गर्दै लेखेका छन्, बझाङका दुरसञ्चारका साथिहरुको के पारा हो यो बझाङमा नमस्तेको नेटवर्क २ मिनेट आउँछ दिनभरी गायब हुन्छ । फोन गर्नासाथ गायब हुन्छ । तनाव भइसक्यो । लगेका भ्वाइस प्याक र डाटा प्याक खेर गइरहेका छन् । तिमिहरुका सिम फिर्ता लैजाउ ।

उता क्षेत्रिय निर्देशनालय अन्तरर्गत डडेल्धुराका प्राविधिक सुमिर महर्जनले समस्या दसैं सुरु हुनुभन्दा पहिलेदेखि नै आएको बताए । उनले भने, ‘वार्तालेकमा रहेको टावरमा रेडियो लिङ्कमा समस्या आएको थियो , दसैं परेकाले ढिलो भयो ।’ आइतबार आवश्यक सामान सहित प्राविधिक टोली अत्तरियबाट हिँडिसकेको छ । निकै टाढा भएकाले सोमबार मात्रै बझाङमा सेवाहरु सुचारु हुने प्राविधिक महर्जनले बताए ।