जोगीको भेषमा भेटिए बैंकर कमल ज्ञवाली ! - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

जोगीको भेषमा भेटिए बैंकर कमल ज्ञवाली !



काठमाडौं । एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे ।

सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौं घोटाला भएको खुल्दै गयो ।

जोगीको भेषमा भेटिए

फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।

प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो ।

तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस गर्यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो । नयाँ पत्रिकामा खबर छ ।