दुई लाखमा मिलाइयो बलात्कारको घटना, डिएनए रिपोर्ट नआउँदै रिहा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

दुई लाखमा मिलाइयो बलात्कारको घटना, डिएनए रिपोर्ट नआउँदै रिहा



कालिकोट । दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ । पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन् ।

सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ साउनमा सोही गाउँपालिका-५ रिस्कोटका २८ वर्षीय जनकबहादुर बम पक्राउ परेका थिए । पीडित किशोरीले आफूलाई सान्नी त्रिवेणी गाउँपालिका-३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले २५ साउनमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले जनकलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पैसाको लोभमा पीडितले बयान फेरेपछि आरोपी छुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए । ‘सबै प्रमाण जुटाएर मुद्दा दर्ता गरियो । तर, पीडितले बयान फेरिपछि बलात्कार दोषीले उन्मुक्ति पाए,’ डिएसपी शर्माले भने ।

डिएसपी शर्माका अनुसार बलात्कारका आरोपी जनकको परिवारले पीडित परिवारलाई पैसा दिएपछि बयान फेरिएको हो । ‘जनकको परिवारले पीडित किशोरीको परिवारलाई दुई लाख रुपैयाँ दिएको रहेछ । त्यसकै आधारमा अदालतमा बयान फेरिएको जानकारी पाएका छौँ,’ डिएसपी शर्माले भने । १२ असोजमा अदालतले रिहा गर्न आदेश दिएपछि जनक छुटेका छन् ।

अधिकारकर्मीले दबाब दिएर मिल्न लगाएको आरोप लगाएका छन् । पीडित दलित परिवारलाई गाउँमा अप्ठ्यारो हुने अवस्था सिर्जना गरेपछि मिल्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ ।

डिएनए रिपोर्ट नआउँदै रिहा
कालिकोट प्रहरीले पीडित किशोरीको भेजिन स्वाब र जनकको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा नमुना पठाएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको डिएसपी शर्माले बताए ।

त्यो रिपोर्ट नआउँदासम्म दोषीलाई रिहा गर्न नहुने सरकारी वकिलको जिकिर थियो । तर, पीडितको बयानका आधारमा अदालतले रिहा गर्न आदेश दिएको हो । नयाँ पत्रिकामा खबर छ । फाइल तस्वीर :