लम्कीचुहा नगरपालिकाद्बारा प्रदेश ६ लेखिएको रसिदको प्रयोग
लम्की ,कैलाली । कैलालीको लम्की चुहा नगरपालिकाले काटेको आम्दानी रसिदमा गम्भीर त्रुटी भेटिएको छ । असोज १२ गते काटेको रसिदमा प्रदेश नै फरक उल्लेख गरिएको पाइएको छ । प्रदेश ७ को प्रवेशद्वारको रुपमा रहेको नगरपालिकाको कार्यालयबाट जारी रसिदमा प्रदेश ६ उल्लेख गरिएको छ । को
एक जना सेवाग्राहीले व्यवसाय कर बुझाउदा काटिएको नगरपालिकाको रसिद नम्बर ००२८६÷२०७५÷०७६ मा लेखिएको छ । ‘लम्की चुहा नगरपालिका नगर कार्यपालिकाकोे कार्यालय मल्का कैलाली, ६ नम्बर प्रदेश नेपाल । यो त्रुटी एउटै रसिदमा मात्र भेटिएको भने होइन । नगरपालिकाले नै २०७४ फागुनमा काटेका रसिद नम्बर ०५९४२÷२०७४÷०७५ मा पनि सोही उल्लेख गरिएको छ ।
रसिदमा वतन नखुलाइएका नगरपालिकाका कर्मचारी धुर्व बहादुर धामीले हस्ताक्षर गरेका छन् । भल्कामा रहेको कार्यालयमा मल्का लेखिनु सामान्य त्रुटी भएपनि प्रदेश ७ लाई ६ नम्बर प्रदेश लेखिनु गम्भीर त्रुटी भएको एक जना स्थानीयले बताए । यही विषयलाई लिएर सामाजिक सञ्जालमा कतिपयले आफु ६ नम्बर प्रदेशको वासीन्दा भएको भनेर ब्यङग्य पनि गरेका छन् । यति लामो समयसम्म यस्तो त्रुटीपूर्ण रसिद काटी रहदासम्म नगरपालिका प्रशासनको ध्यान नजानु गम्भीर विषय हो ।
नगरपालिकाकामा आर्थिक प्रशान हेर्ने लेखा अधिकृत तप्त राज उपाध्यायले प्रिन्ट गर्दा गल्ती भएको स्वीकार गरे । तर ,फागुन देखि हालसम्म पनि त्यस्तै रसिद प्रयोग गरिएकोमा भने उनले अनविज्ञता प्रकट गरे । उनले भने, ‘म पनि भर्खरै आएको हुँ । पहिला देखि के थियो त्यो मलाई पनि खासै जानकारी भएन । प्रिन्ट मिस्टेक भएको रहेछ । अब सच्याउन निर्देशन दिइएको छ । नयाँ रसिद प्रयोग हुन्छ ।‘
नगरपालिका प्रमुख प्रशाकिय अधिकृत दशरथ बुढाले पनि कम्प्युटर मिस्टेकले त्यस्तो भएको बताए । प्रदेश ७ हुनपर्नेमा रसिदमा प्रदेश ६ भएको रहेछ उनले भने, मैले पनि हिजो मात्रै थाहा पाएर सच्याउन निर्देशन गरिसकिएको छ । यत्रो लामो समयसम्म त्रुटीपूर्ण रसिद प्रयोग भएको रहेछ भन्ने जिज्ञासामा उनले भने, भएको रहेछ । कम्प्युटर प्रिन्ट गर्ने कर्मचारीले ध्यान दिनु पर्ने हो । अब यसो नहुने पनि उनले प्रतिबद्धता जनाए ।