प्रदेश सातको सरकारद्बारा रात्रि बसमा २ जना चालक राख्न निर्देशन - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रदेश सातको सरकारद्बारा रात्रि बसमा २ जना चालक राख्न निर्देशन



अत्तरिया (रासस) । प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज यातायात व्यवसायीलाई मन्त्रालयमा बोलाएर सो निर्देशन दिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिए ।

उनले २०० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरुप गर्न व्यवसायीलाई निर्देशन दिइएको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दशैं आइरहेकाले यो समयमा यात्रुको चाप बढी हुने गरेकाले यात्रीको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले नियमनमा कडाइ गर्न लागेको बताए। गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरिएको मन्त्री बोहराले बताए ।

यातायात व्यवस्था कार्यालय धनगढीले दशैं र तिहारको समयमा यात्रुको सुविधाका लागि धनगढीको चौराहा र अत्तरियाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले दशैँ र तिहारमा यात्रीलाई सुरक्षित रुपमा गन्तव्य सम्म पुर्याउन ट्राफिक नियमको पालना गर्नुपर्ने, यात्रीको सामानभन्दा बाहेक अन्य सामान बोक्न नपाइने र सिटभन्दा बढी यात्री राखेको पाइएमा नियमअनुसार हुने कार्वाही गरिने जनाएको छ । फाइल तस्बिर :