टीकापुरको जति विकास हुनुपर्ने हो त्यति भएन : शहरी विकास मन्त्री मोहम्बत इस्तियाक
लोकेन्द्र रावल / टीकापुर ।
एक बर्ष अघि निर्माण सम्पन्न भएको टीकापुरको सभाहल आइतवार बिधिवत रुपमा उद्घाटन भएको छ । सभाहलको उद्घाटन शहरी विकास मन्त्री मोहम्बत इस्तियाक राइले गर्नु भएको हो ।
सभाहलको उद्घाटन पछि राइले टीकापुरको जति विकास हुनुपर्ने हो त्यति नभएको बताउनु भयो । ‘टीकापुर ऐतिहासिक सहर हो ।’ राइले भन्नुभयो ,‘ नमूना सहर बनाउने मन्त्रालय मेरो मातहतमा छ , म टीकापुर जस्तो व्यबस्थित सहरका बारेमा गम्भिर छु ।’
तीनै तहको निर्बाचन सम्पन्न भएको छ । अब विकास कसरी हुन्छ भन्ने आम जनचासोको बिषय रहेको मन्त्री राइले बताउनु भयो । ‘संबिधानको मर्म अनुसार कार्यान्वयनको चरणमा छौ । संबिधान अनुसार मौलिक हकको ग्यारण्टी गर्नमा लागेको उहाले बताउनु भयो ।’ मन्त्री राइले भन्नुभयो , ‘अधिकार धेरै छन् तर त्यसलाई संघिय मर्म अनुसार लैजानुपर्छ । अन्य देशको तुलनामा नेपालमा तीन बर्षको अबधिमा धेरै काम भएका छन् ।’
उहाँले नगर विकास समिति एक्कासी खारेज गर्ने हो भने सबै छताछुल्ल हुन्छ भन्दै नगर विकास समिति संचालनको स्वरुप परिवर्तन हुने जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ७ का प्रतिपक्ष दलका नेता डाक्टर रण बहादुर रावलले टीकापुर व्यबस्थित सहर हो भन्दै ढल निकास पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
टीकापुरलाई हेर्ने राज्यको नीति नै ठिक छैन भन्दै सुदुपश्चिमका अन्य ठाउँ नमूना सहर घोषणा हुने त्यहि टीकापुर जस्तो व्यबस्थित सहर नपर्नु दु:खद रहेको बताउनु भयो ।
‘टीकापुर नमूना सहरमा नपरेपछि दबाब दिदा अर्जुननरसिंह केशीको पालामा नमूना सहरको सुचिमा परेको डाक्टर रावलले बताउनु भयो । केसी मन्त्री हुँदा टीकापुरलाई करिब ५० करोड रुपैया बजेट दिनुभएको समेत रावलले बताउनु भयो । ’
नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल, नेकपाका नेता सूर्यचन्द्र भट्टराई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य चन्द्र प्रकाश चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत सहरी विकासका डिई सुरेश कुमार वाग्लेले गर्नुभएको हो भने संचालन पदम राज जोशीले गर्नुभएको थियो । ५ सय सिट क्षमताको सभाहल निर्माण भएपछि टीकापुरमा बिभिन्न सामाजिक क्रियाकलापहरु गर्न सजिलो हुने भएको छ । सभाहल मन्त्री राइले भदौ ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेपनी सुरक्षाको कारण देखाएर स्थगित गरिएको थियो ।