फिफाबाट यसरी अन्यायमा परे मेस्सी - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

फिफाबाट यसरी अन्यायमा परे मेस्सी



काठमाडौं – फिफाको बेस्ट मेन्स प्लेयर अवार्डमा लियोनेल मेस्सीलाई शीर्ष तीन स्थानमा पारिएको छैन । विगत १२ महिनाभित्रका फूटबलका तीन शीर्ष खेलाडीमा मेस्सी परेनन् ।

मेस्सीलाई यसरी छुटाइँदा धेरैजना छक्क परे । फूटबल पण्डित गेरी लिनेकरले त भने नै, ‘फूटबल बुझ्ने कसैले पनि शीर्ष तीन खेलाडीको सूचीमा मेस्सीलाई छुटाउनै सक्दैनन् ।’

इंग्ल्यान्डका यी पूर्वखेलाडीको तर्क छ, ‘बार्सिलोनाले गत सीजनमा दुई उपाधि जित्नमा मेस्सीको सर्वोपरि योगदान छ ।’

लिनेकरको तर्क जायज छ तर फूटबलको पुरस्कारमा हुने खेल बुझ्नेले थाहा पाउँछ, घरेलु सीजनमा लगातार राम्रो प्रदर्शन गर्नुले अचेल कुनै अर्थ राख्दैन ।

एक समयमा कपका लागि हुने प्रतियोगिता भन्दा पनि लीग जित्नुलाई कुनै पनि टीम र खेलाडीको गुणस्तर नाप्ने मापदण्ड बनाइन्थ्यो तर अहिले त्यो स्थिति छैन ।

नभए हामी मेस्सी फिफाको शीर्ष तीनमा वा यूईएफएको वर्ष खेलाडीमा नपर्नुलाई कसरी व्याख्या गर्न सक्छौं र ? सन् २०१७–१८ को सीजनको शुरूदेखि अन्त्यसम्म मेस्सीभन्दा राम्रो खेलाडी कुनै पनि थिएन ।

यी १० नम्बरका खेलाडीलाई शीर्ष स्थानको उम्मेदवार नबनाइनुमा एक मात्र कारण भनेको बार्सिलोना च्याम्पियन्स लीगको क्वार्टरफाइनलबाट बाहिरिनु अनि अर्जेन्टिनाले विश्वकपमा नराम्रो प्रदर्शन गर्नु नै हो ।

आल्बीसेलेस्ते भनी चिनिने अर्जेन्टिनी टोली रुस विश्वकपमा राउन्ड अफ १६ बाट बाहिरिएपछि फूटबलको इतिहासका महानतम खेलाडीमा मेस्सीको दाबी प्रश्नको घेरामा परेको थियो । यसलाई रोनाल्डिन्हो जस्ता महान् खेलाडी पनि वाहियात मान्छन् ।

‘उनी इतिहासकै महानतम खेलाडी हुन्, कुनै शंका छैन,’ यी ब्राजिली खेलाडीले स्पोर्ट पत्रिकालाई बताए, ‘मेस्सीले हासिल गरेजति उपलब्धि कसैले पनि गरेको छैन ।’

तर केही मानिस उनी वास्तविक नायक हैनन् भनी विश्वास गर्छन् किनकि उनले रद्दी अर्जेन्टिनी टोलीलाई विश्वकप दिलाउन सकेनन् । त्यसो भन्ने हो भने त मेस्सीले निर्णायक खेलमा इक्वेडरलाई हराउनका लागि ह्याटट्रिक नगरेको भए अर्जेन्टिना विश्वकपमा छनोट नै हुने थिएन ।

अनि बार्सिलोना क्लबबाट आन्द्रेस इनिएस्ता जापानको क्लबमा खेल्न गएपछि नयाँ कप्तान छान्नुपर्दा प्रशिक्षक अर्नेस्टो भाल्भेर्देको दिमागमा एकजना खेलाडीको मात्र नाम थियो । हुन पनि लिनेकरले भनेजस्तै मेस्सीले नै क्याटालन क्लब बार्सिलोनालाई अघिल्लो सीजनमा दुईवटा उपाधि दिलाएका हुन् ।

अनि यो पहिलेको जस्तो खतरनाक बार्सा टोली पनि हैन । रोनाल्डिन्हो पहिलोपटक क्याम्प नू आएपछि क्लबले अभूतपूर्व सफलताको युग शुरू गरेको थियो तर त्यसयताकै सबभन्दा कमजोर टोली अघिल्लो सीजनमा थियो ।

कार्लोस पुयोल र जाभी पहिले नै गइसकेका थिए अनि इनिएस्तामा पहिलेको जस्तो धार थिएन । लुइस सुआरेज कहिलेकाहीँ मात्र चम्कन्थे र नेयमार सीजन शुरू हुनअघि फुत्त पेरिस सेन्ट जर्मेनतिर गए ।

नेयमारको ठाउँमा आएका उस्मान डेम्बेलेले पहिलो सीजन घाइते भएर बस्नुपर्‍यो अनि आन्द्रे गोमेस र पाको अल्कासेर जस्ता खेलाडीले उच्च स्तरको क्लबमा देखाउनुपर्ने कन्सिस्टेन्सी देखाउन सकेनन् ।

मेस्सी भने सीजनभरि कन्सिस्टेन्ट रहे । उनको चिरकालीन बुद्धिमत्ताका कारण बार्सिलोनाले दुईवटा ट्रफी मात्र जितेन, पूरै सीजनमा एउटा पनि खेलमा हार नबेहोर्ने टीम पनि लगभग बन्यो ।

सीजनको दोस्रो अन्तिम खेलमा भने क्लबको कीर्तिमान बन्न पाएन र लेगानेससँग बार्सिलोना हार्‍यो । उक्त खेलमा मेस्सीलाई खेलाइएन । हप्ताको बीचमा उनलाई दक्षिण अफ्रिकामा एउटा अन्तर्राष्ट्रिय मैत्री खेलमा खेलाउनुपर्ने भएकाले वाहियात रूपमा रिजर्भमा राखियो ।

त्यसले गर्दा ३१ वर्षीय मेस्सीले बेन्चबाट पनि बार्सिलोनालाई उद्धार गर्न सकेनन् जबकि त्यसको ६ हप्ताअघि उनले सेभियासँगको खेलमा २–० को स्थितिमा रहेको बेलामा बेन्चबाट आएर ८९औं मिनेटमा बराबरीका लागि गोल गरेका थिए ।

बार्साले कट्टर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग दुईचोटि भिडन्त गर्दा पनि मेस्सी नै निर्णायक रहे । एल क्लासिको भनिने यो प्रतिस्पर्धामा सबभन्दा धेरै गोल मेस्सीले नै गरेका छन् । ला लिगाका दुवै भिडन्तमा उनले गोल गरे अनि

स्यान्टियागो बेर्नाबेउमा ३–० ले बार्सिलोनालाई जिताउँदा गोलका लागि वातावरण मिलाएका थिए र त्यतिखेर उनको गोडामा एउटा जुत्ता मात्र थियो ।

क्याम्प नूमा उनको एक मात्र गोल पनि बार्सा १० खेलाडीमा सीमित हुँदा र संघर्ष गरिरहँदा सम्भव भएको थियो ।

कोपा देल रेको फाइनलमा सेभियाविरुद्ध पनि उनले गोल गरे । हुन त त्यो रात इनिएस्ता चम्किए तर पूरै सीजन चाहिँ मेस्सीकै नाममा रह्यो ।

उनी प्रिमेरा डिभिजनका सर्वोत्कृष्ट खेलाडी मात्र भएनन् । युरोपका पाँचवटा ठूला लीगमा आँकडागत रूपमा उनी जति प्रभावकारी खेलाडी नै कोही भएन ।

ला लिगामा उनले ३४ गोल गरेपछि युरोपीयन गोल्डन शु पाए र उनले सीजनभरि कुल ४५ गोल गरे (जसमध्ये ६ वटा च्याम्पियन्स लीगमा गरेको गोल थियो) । क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह (४४) र मिडफील्डर लुका मोड्रिच (२) भन्दा बढी गोल त मेस्सीकै छ ।

उनले आफ्ना प्रमुख प्रतिस्पर्धीहरू भन्दा बढी गोल गरेको मात्र हैन, उनी अरूभन्दा बढी सिर्जनात्मक पनि रहे ।

अघिल्लो सीजनमा सबै प्रतियोगितामा मेस्सीले १२१ वटा अवसर सिर्जना गरे । सलाहले मात्र तीन डिजिटनजिक संख्या पुर्‍याउन सके (९७) । मोड्रिच (६०) र रोनाल्डो (५४) त धेरै पछाडि रहे । अनि मेस्सीले १८ वटा असिस्ट पनि गरे जुन सलाहको भन्दा चार बढी हो अनि मोड्रिच र रोनाल्डोभन्दा १० बढी हो ।

तर मोड्रिचले अन्य उम्मेदवारको जति गोल वा असिस्ट गर्लान् भनी अपेक्षा गर्नु अन्यायपूर्ण हुन्छ किनकि उनी मिडफील्डर हुन् । मेस्सी आफैं पनि डीपबाट खेल्ने प्लेमेकर हुन् भन्ने कुरालाई उजागर गर्नुपर्ने हुन्छ ।

बार्सिलोनाको गोलमा मेस्सी कति महत्त्वपूर्ण छन् भन्ने कुरा आँकडाबाट नै थाहा हुन्छ । अघिल्लो सीजनमा मेस्सीले विपक्षीको हाफमा १९ सय ५२ सफल पास दिएका थिए जुन मोड्रिचको १५ सय ५७ भन्दा बढी हो ।

अनि टीमको खेलमा प्रभाव पार्ने कुरा उठ्दा केभिन डी ब्रुइनालाई पनि फिफाले अन्याय गरेको हो । उनले अघिल्लो सीजनमा ४७ सय ९७ चोटि बल टच गरेका थिए जुन युरोपका कुनै पनि खेलाडीको भन्दा निकै धेरै हो । अनि असिस्ट पनि डी ब्रुइनाले धेरै नै गरेका थिए र डिमित्री पायेट मात्र उनीभन्दा अघि रहे ।

म्यानचेस्टर सिटीले प्रेमियर लीगको अघिल्लो सीजनमा कीर्तिमान तोड्दा त्यसमा डी ब्रुइनाको ठूलो भूमिका थियो । तर उनलाई यूईएफए वा फिफाले शीर्ष तीनमा राखेनन् । अनि डी ब्रुइनाका व्यवस्थापक पेप ग्वार्डिओलालाई पनि फिफा कोच अफ द ईयर पुरस्कारका लागि शर्टलिस्ट गरिएन ।

कुन खेलाडीले व्यक्तिगत पुरस्कार जित्ने कुराको निर्धारण गर्नका लागि ठूला प्रतियोगिता महत्त्वपूर्ण हुने कुरामा शंका छैन । च्याम्पियन्स लीग र विश्वकपका नकआउट खेलमा चम्किनुको बढी महत्त्व हुने रहेछ । मोड्रिचले त्यसै गरेको देखियो । रेलिगेसनमा पर्न योग्य क्लबविरुद्ध गोलको वर्षा गर्नुभन्दा ठूला प्रतियोगितामा एकाध राम्रो प्रदर्शन गर्नु बढी सान्दर्भिक हुने रहेछ ।

तर आजकल सीजनको लामो समय औसत वा खराब प्रदर्शन गरेका खेलाडी ठूला प्रतियोगितामा राम्रो खेल देखाएकै भरमा पुरस्कारका लागि योग्य ठहरिन थालेको देखिन्छ ।

डिफेन्डरहरू कहिले पनि सर्वोत्कृष्ट पुरस्कारको दौडमा नभएजस्तै लीगमा देखाएको फर्मको कुनै महत्त्व छैन । मेस्सीलाई जति त्यो कुरा कसलाई थाहा होला र ? कन्सिस्टेन्सीको सवालमा मेस्सी नै अघिल्लो सीजनमा संसारका सर्वोत्कृष्ट खेलाडी हुन् ।

(गोल डट्कममा प्रकाशित मार्क डोयलको विश्लेषण)