तरकारीमा सिन्डिकेटको रहस्य ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

तरकारीमा सिन्डिकेटको रहस्य !



तरकारीको मूल्य होलसेलमै ठाउँपिच्छे फरक भेटिएको छ । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरक–फरक मूल्य राखेर बेच्ने गरिएको छ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट भित्रिने तरकारी कालिमाटी, बल्खु, मनोहरा, चाबहिल, टुकुचा र बालाजु होलसेलबाट अन्य क्षेत्रमा बिक्री हुन्छ । होलसेलमा मूल्य फरक हुँदा खुद्रा व्यवसायीले पनि त्यसैअनुसार असुल्दै आएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

कालिमाटी बजारमा बिहीबार प्रतिढक (५ किलो) ४ सय रुपैयाँमा बिक्री भएको काउली बल्खु, मनोहरा र बालाजुमा ४ सय ५० तथा टुकुचामा ५ सय रुपैयाँमा बेचियो ।

कालिमाटीमा २ सय रुपैयाँ ढक बिक्री भएको भिन्डी बल्खु र मनोहरामा २ सय ५०, टुकुचामा ३ सय र बालाजुमा ४ सय ५० रुपैयाँमा बेचियो । व्यवसायीका अनुसार यो मूल्य दिउँसो १२ बजेपछिको हो । बिहान यसभन्दा प्रतिढक ५० रुपैयाँ महँगो थियो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी तरकारी बजार अनुगमन गरे पनि उपत्यकाका अन्य तरकारीका होलसेल बजार अनुगमन गरेको छैन । ‘होलसेल बजार धेरै भए पनि सीमितमा मात्रै अनुगमन भएको छ,’ विभागका पूर्वमहानिर्देशक कुमार दाहालले भने, ‘गत वर्ष पनि मूल्य विश्लेषण गरेर दिएको हो तर अहिलेसम्म कार्यान्वयन भएको छैन।’

एउटा क्षेत्रमा मात्रै अनुगमन गर्दा अन्यमा बिचौलियालाई फाइदा हुने उनी बताउँछन् । अनुगमनपछि कालिमाटी तरकारी बजारको मूल्यमा न्यून सुधार देखिए पनि अन्य तरकारी बजारमा भने बढेको छ।

कृषि उत्पादन र कृषि क्षेत्रको नियामक निकाय कृषि मन्त्रालय र विभाग हुन् । तर, यी निकायले प्रभावकारी रूपमा अनुगमन र नियन्त्रण गर्न सकेका छैनन् । मूल्यका सन्दर्भमा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि हेर्छ । विभागका महानिर्देशक योगेन्द्र गौचन प्रतिवेदन आएपछि तत्काल अनुगमन सुरु गर्ने बताउँछन् । ‘अर्को सातासम्म प्रतिवेदन तयार हुन्छ,’ उनले भने, ‘त्यसपछि अन्य क्षेत्रमा पनि अनुगमन हुन्छ।’

विभागले गत सोमबार कालिमाटीमा अनुगमन गर्दा व्यवसायीहरूले बिलबिना कारोबार गरिरहेको फेला परेको थियो । किसानबाट सस्तोमा खरिद गरिएको तरकारी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गरेको पाइएको थियो।