"शहर एक, चित्र अनेक" - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

“शहर एक, चित्र अनेक”



अन्जान प्रदिप

१.
दिनभर
ब्यस्तता र थकानलाई
खाँदेर आफ्नो साँघुरो भुँडीभित्र
साँघुरै दूषित गल्लीहरुमा
कुदिरहन्छ जीर्ण ट्याम्पो,
गतिभन्दा चर्को
आवाज निकाल्दै!!

२.
पत्रिका पढ्नेहरु त थुप्रै होलान्,
तर यहाँ
ठिहिर्याउने चिसो छल्न
पत्रिकाकै बिछ्यौनामा
गुजुल्टिइरहेछ
देशको भविष्य!!

३.
रंगहीन घरमाथिका
रंगीन होर्डिंगबोर्डहरुले,
चर्केका भित्ताहरुमा
चित्रित विज्ञापनहरुले,
बोकेका छन्
देश बनाउने घोषणापत्र!

४.
शहरको भग्न
आधुनिकताको
टेको लगाईरहेछ
प्रबेशद्वारमाथिको
ठूलो होर्डिंगबोर्ड!

जसमा
चित्रित छ,
सभ्यताले टकटक्याएको
धुलोमैलो टाँसिएर कटकटिएको
फेयर एण्ड लब्लीको विज्ञापन!!

५.
सभ्य शहरलाई गिज्याइरहेछ,
सडकपेटीमै बेबारिसे फालिएको
कुकुरको कुहिएको लास!!

अनि सभ्यता??

सभ्यता
मुख बिगार्दै, नाक थुन्दै
या मास्क लगाएर
ओहोरदोहोर गरिरहेछ,
त्यही सडक हुँदै!!