मुल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन गरिने नेविसंघको चेतावनी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

मुल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन गरिने नेविसंघको चेतावनी



गोविन्द बीसी / बौनिया,कैैैलाली। 

पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामानमा सरकारले गरेको मुल्य बृद्धिको विरोध गर्दै नेविसंघले देशब्यापी रूपमा आन्दोलन चर्काउदै जान थालेको छ ।

देशब्यापी बिरोध र आन्दोलन चर्काउदै आएको नेविसंघले सोमबार लम्कीमा बिरोध र्याली सहित कार्यक्रम गरेको छ ।
पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामानको बजार मूल्यमा सरकारले अघोषित रूपमा एक्कासी चर्को मूल्य वृद्धि गर्दा सर्वसाधारण जनता मारमा परेको भन्दै नेविसंघले त्यस्को चर्को बिरोध गरेको हो । मुल्यबृद्धि तत्काल फिर्ता लिन सरकारलाई नेविसंघले माग समेत गरेको छ । कतिपय जिल्लामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै कृत्रिम अभाव समेत देखिन थालेको छ भने कालोबजारी समेत बढ्दै जान थालेको छ ।

नेपाल विद्यार्थी संघ लम्की बहुमुखी क्याम्पस इकाइ कमिटीको आयोजनामा भएको विरोध र्‍याली लम्की बजार परिक्रमा गरी लम्की चौराहमा कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै नेविसंघका बिद्यार्थी नेता ललित जैशीले बाम गठबन्धन सरकारले सर्बसाधारण जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामान सहित पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । उनले सुतेको सरकारले विद्यार्थीको शान्तिपूर्ण आन्दोलनप्रति उदासीनता देखाएको बताए ।

वर्तमान सरकार जनतालाई राहत दिनुको साटो आहात दिनतर्फ उद्दत रहेको उनको आरोप छ । कार्यक्रममा जैशीले राष्ट्रियता र रास्ट्रवाद नाममा सरकार लम्पसारबाद भएको टिप्पणी समेत गरे ।

यस्तै, विरोध सभामा बोल्दै नेविसंघ ७ नम्बर प्रदेश सदस्य एवं बिद्यार्थी नेता अम्मर विष्टले सरकारले जनतालाई विभिन्न बहानामा दु:ख दिईरहेकाले टुलुटुलु हेरेर बस्न नसकिने बताए । उनले भने जनतालाई सरकारले सास्ती दिदै जाने र हामी टुलुटुलु हेरेर बस्न सक्ने अवस्थामा छैनौं । सशक्त आन्दोलन र प्रतिबाद गर्छौं ।

कार्यक्रममा विद्यार्थी नेता हृदयराज उपाध्यायले नेविसंघले थालेको बिरोध बारे सरकारले सुनुवाई नगरे देशैभर सशक्त आन्दोलनको आधिबेहरी ल्याउने र त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिए ।

कार्यक्रममा सयौंको संख्यामा विद्यार्थी नेता सहित समर्थकको सहभागिता रहेको थियो । कार्यक्रममा नगेन्द्र न्यौपाने, तपेश्वरी भाट, केशव तिमिल्सिना लगायतकाले मन्तव्य राखेका थिए भने, कार्यक्रमको संचालन चन्द्र खनालले गरेका थिए ।