बाबुरामले ओलीलाई भने: 'काठमाडौंको कुर्सी र दिल्लीको कुर्सीले के चाहन्छ' ? - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

बाबुरामले ओलीलाई भने: ‘काठमाडौंको कुर्सी र दिल्लीको कुर्सीले के चाहन्छ’ ?



नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल दुई देशबीचको तरुल नभएर दुई महासागरबीचको टापु भएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, ‘पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन् । अब हामीले दुवै देशबाट लाभ लिनुपर्छ ।’

छिमेकी मुलुकसँगको सम्बन्ध सुधार नगरी सम्वृद्ध मुलुक बनाउन नसकिने उनले बताए । त्यसमा भारतसँग विशेष सम्बन्ध रहेको उनले बताए ।
डा भट्टराईले भारतसँग मात्रै होइन चीन, अमेरिका र अरु ५० औं मुलुकसँग विप्पा सम्झौता गर्न आग्रह गरे ।

‘पुजी आयात गरौं, बस्तु निर्यात गरौं,’ भन्दै भट्टराईले छिमेकी मुलुकहरुबाट पुँजी ल्याउन आग्रह गरे ।

भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याई गर्न नहुने पनि बताए ।

‘जो सुकै आए पनि सत्कार गर्ने हाम्रो परम्परा हो । कसैको अपमान गर्नु हुँदैन,’ भट्टराईले भने, ‘कुराकानीमा राष्ट्रहितको कुरा गरौं । जबसम्म छिमेकी दुई देशसँग सम्बन्ध राम्रो बनाउन सक्दैनौं तबसम्म मुलुक सम्वृद्ध हुँदैन ।’

‘ओलीजीले मोदीजीलाई भन्नु पर्‍यो, काठमाडौंको कुर्सीबाट भारतले के चाहन्छ र दिल्लीको कुर्सीबाट नेपालले के चाहन्छ ?’ भट्टराईले भने, ‘दुवै देशको हितमा कुरा हुनु पर्छ ।’

गत निर्वाचनमा नयाँ शक्तिले राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेपछि स्वतन्त्र हैसियतमा रहेका बाबुरामले पहिलो पटक सम्बोधन गरेका हुन् ।

बजेटपूर्वको छलफलमा बिहीवार बोल्दै भट्टराईले भौतिक र सामाजिक पूर्वाधार विकासमा जोड दिए । भट्टराईले कृषिमा लगानी बढाउन माग गरे । पूर्वमा कोशी र मध्य नेपालमा कालीगण्डकीको पानी लगेर सिँचाइ गर्न उनको सुझाव छ ।

स्वास्थ्य बिमा र किसानलाई पेन्सनको व्यवस्था गर्न सकेमा विकास र वितरण हुने भन्दै उनले केही संरचनात्मक परिवर्तन गर्ने आँट गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीलाई भनेको ‘कोट काट्ने मुसा र बुद्धिजीवीको बहस’ बारे पनि टिप्पणी गरे ।

‘प्रधानमन्त्रीले प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षा पु¥याउने कुरा गर्नुभयो, त्यसको स्वागत गर्छु । तर उहाँले बुद्धिजीवीलाई कोट काट्ने मुसा भन्नुभयो । हुन त डिग्रीधारीमा दम्भ पालेर बस्ने प्रवृत्ति छ,’ भट्टराईले संसदमा भने, ‘एनजीओ र आइएजनीओका छेउ न टुप्पोको प्रतिवेदन लेख्ने बुद्धिजीवीलाई हो भने त ठिकै छ, तर ज्ञान र विज्ञानको अपमान गर्नु हुँदैन ।’

भट्टराईले विश्वका १० उत्कृष्ठ विश्वविद्यालयका प्राध्यापकलाई एक वर्षसम्म नेपालमा ल्याएर राख्न सुझाव दिए । ‘नेपालका हजार जना विद्यार्थीलाई छानेर विश्वका १० विश्वविद्यायलमा पठाऔं । त्यसले समृद्धि ल्याउन मद्दत गर्छ,’ भट्टराईले भने ।

सभामुखसँग विशेष समय लिएर बाबुरामले रोस्टमबाटै सम्बोधन गरेका हुन् ।