व्यापारीमाथि कडा रुपमा प्रस्तुत भए अर्थमन्त्री, के भने ?
काठमाडौं/अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् ।
भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो । यसको जाननकारी अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक रुपमै दिइसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको साधाराणसभामा उद्योगीहरुलाई सम्बोधन गर्दै उनले भन्सार विन्दुहरुलाई सफा र राख्न काम थालेको बताएका छन् ।
‘हामी भन्सार बिन्दुलाई सफा राख्ने प्रयत्नमा छौं । यो स्पष्ट हुन जरुरी छ,’ उनले भनेका छन्,’मेरो कक्षमा सीसी टीभी छन् । हरेक भन्सारमा एक–एक घण्टामा मेरो नजर परिरहेको छ । म हेर्दैछु । कहाँ–कहाँ कर्मचारी र गाडीको लाइन छ । कता काम भएको छ, कता रोकिएको छ ।’
भन्सारमा राम्रोसँग चेकजाँच नगर्ने, भित्रिएपछि सामान समात्ने, भन्सारमा नै न्युनवीजकीकरण गर्ने, बजारमा छापा मार्ने काम भइरहेको बताउँदै खतिवडाले उद्योगी–ब्यापारीले सही बिलिङ नगर्दा नै यो समस्या आएको जिकीर गरे ।
यसलाई रोक्न आफूले भन्सार विन्दु र कारखनाको ढोकामै निगरानी बढाइएको उनको भनाइ छ ।
‘कपडा स्टेसनरी सामानहरु हाम्रो आयातको रकेर्डमा छैनन् । बजारमा आइरहेको छ । हामी उपभोग गरिरहेका छौं,’ उनले भनेका छन्,’भन्सारमा नदेखिने तर बजारमा आइपुग्ने भएपछि बाँकी कुरा भन्नैपर्दैन ।’
‘शुद्धीकरण हुन्छ’
उनले भन्सार ऐजेन्टहरुलाई तटस्थ रहन भनेको स्मरण गर्दै वास्तविकताको आधारमा नै भन्सार डिक्लेयर गराउनुपर्नेमा जोड दिए ।
उनले यसमा सरकारको पनि कमजोरी रहेको स्वीकार्दै अब भने पारदर्शितामा विश्वास गर्ने सरकार आएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
‘लगानी गर्ने र स्वच्छ रुपमा व्यवसाय गर्नेलाई हाम्रो साथ छ,’ खतिवडाले भने ।
मन्त्रालयले सबै राजश्व प्रशासनको शुद्धीकरणमा लागि काम थालेको बताएको छ । यो लागि तत्कालै सम्भव नभएपनि सरकारले सोच–विचार गरिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
धेरै निकायले अनुगमन गरेको भन्ने गुनासोलाई सम्बोधन गर्नकै लागि राजश्व अनुसन्धानको अधिकार प्रधानमन्त्रीकोमा लगिएको जानकारी उनले दिए । भन्सार विन्दुमा उत्पन्न ट्राफिक समस्यमाबारे पनि सरकार गम्भीर रहेको उनको भनाइ छ ।
भ्याट र जीएसटीमाथि समीक्षा
खतिवडाले उद्योगी ब्यापारीले एकातर्फ भन्सार दर घटाउन माग गर्ने र अर्कोतर्फ भन्सार दर बढाएर स्वदेशी उद्योग बचाउन भनिरहेकाले सरकार त्यसमाथि गम्भीर रहेको बताए । भन्सार विन्दु छलेर हुने अवैध आयातलाई रोक्न आफूले गृह मन्त्रालयसँग पनि छलफल थालेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्को फरक प्रशंगमा मन्त्री खतिवडाले मूल्य अभिवृद्धि कर ९भ्याट० को थ्रेसहोल्ड विषय विवादित भएपनि कारोबार सीमा सीमा ५० लाख पुगिसकेको बताए ।
‘केहीले बहुदर भ्याटको कुरा राख्नुभएको छ । कसैले यो सीमा १ करोड पुर्याउनुपर्ने भनिरहनुभएको छ । यसमा बहस हुनुपर्छ,’ उनले भने,’कुन विषय भ्याट छुटको हो, कुन होइन भन्नेमा हामी पनि छलफलमा छौं । भ्याट प्रणालीमाथि नै समीक्षा गर्दैछौं ।’
उनले भ्याट र जीएसटीका विशेषताहरुबारे पनि सरकारले छलफल चलाएको बताए । दुईमध्ये कुन बढी वैज्ञानिक र वस्तुगत कर प्रणाली हो भन्नेबारे समीक्षा हुने खतिवडाको भनाइ छ ।
‘पूर्वाधार बन्छन्’
अर्थमन्त्री खतिवडाले उद्योग–व्यापार प्रवर्द्धन गर्न विशेष आर्थिक क्षेत्रसहितका पूर्वाधारमा पनि सरकारको ध्यान गएको बताए । त्यसका लागि हरेक प्रदेशमा एउटा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्न लागिएको जानकारी दिए ।
दशकभन्दा अघिदेखि निर्माण सुरु गरिएका आईटी पार्क, भैरहवा सेज, विराटनगर आईसीपी लगायतका आयोजना अलपत्र रहनुले भने पूर्वाधारमा गरिएको लगानीमाथि पनि प्रश्न उठ्ने अवस्था आएको खतिवडाको भनाइ छ ।
उनले अब भन्सारसँगै कृषिवस्तुको क्वारेन्टाइन ल्याव स्थापना, अग्र्यानिक खेतिको प्रवर्द्धन, कृषिवस्तुको सहज निर्यात, भारतीय सीमामा रेल्वे, हवाइ र सडक कनेक्सन विस्तारमा सरकारको प्राथमिकतामा रहेको बताए ।
खतिवडाले कृषिमा सस्तो ब्याजदरमा अनुदान ऋण दिने विषय योजनामा सीमित बनेको बताउँदै सरकार त्यसमा गम्भीर रहेको पनि बताए ।
‘अब जोखिम बाँड्न ऋणहरुको बिमा अनिवार्य गर्नुपर्ने अवस्था आयो, बैंकहरुले त्यो ऋण दिइरहँदा पैसाको अवश्यकता पर्यो भने पुनःकर्जाको व्यवस्था पनि छ,’ खतिवडाले भने,’ हामीले अब बैंकहरुलाई झकझक्याउनु पर्ने देखेको छु । बैंकको नियामकसँग कुरा गर्छु ।’