विधेयक पारित हुन ढिलाइ हुँदा प्रदेश ७ को बजेट बैशाख पहिलो साता
१ अर्व २ करोड ५ लाखको अल्पकालीन बजेट
धनगढी ,कैलाली । प्रदेश नं ७ को अल्पकालीन बजेट चैत मसान्तभित्रै ल्याउने भनिए पनि आर्थिक विधेयक पारित हुन ढिलाई भएपछि बजेट एक साता ढिला आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट बैशाख पहिलो साता आउने निश्चित गरेको छ ।
बजेट चैतभित्रै ल्याउने भनिएतापनि विधेयक पारित हुनमा समय लागेको र अन्य प्राविधिक कारणले एक साता ढिलो बजेट आउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिनु भयो ।
सरकार गठनपछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको थियो । उक्त समस्या समाधानका लागि अल्पकालीन बजेट भए पनि ल्याउने तयारीमा उक्त अर्थ मन्त्रालय लागि परेको छ ।
अल्पकालीन बजेटको मुख्य प्राथमिकतामा कृषि क्षेत्र पार्ने बताइएको छ । साथै गरिबी निवारण, शिक्षा, स्वाथ्य, यातायात क्षेत्र बजेटका प्राथमिकताको क्षेत्र रहेको यस प्रदेशको लागि १ अर्व २ करोड ५ लाख बराबरको अल्पकालीन बजेट ल्याउने तयारी गरेको मन्त्री बोहराले जानकारी दिनु भयो ।