रोएर चुनाब जितिदैन - ओबामा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

रोएर चुनाब जितिदैन – ओबामा



अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावमा आफूविरुद्ध धाँधली हुने रिपब्लिकनतर्फका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै त्यस्तो रोइकराई बन्द गर्न भनेका छन्।

उनले मतदान नै नभई अमेरिकि राष्ट्रपति पदको उम्मेदवारले अशोभनिय रुपमा चुनावलाई बदनाम गर्ने ट्रम्पको जस्तो प्रयास पहिला कहिल्यै नभएको पनि बताए।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेको भन्दै ओबामाले त्यसको पनि आलोचना गरे।

ट्रम्पले आफूले चुनावमा जिते रुसी राष्ट्रपतिसँग नजिकको सम्बन्ध राख्ने प्रतिक्रिया यसअघि दिएका थिए।

आरोप

मंगलबार ह्वाइट हाउसको रोज गार्डेनमा अमेरिका भ्रमणमा रहेका इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीसँगको पत्रकार सम्मेलनका बेला ओबामाले ट्रम्पबारेको आफ्नो धारणा तथ्यमा आधारित रहेको बताएका हुन्।

मत सर्वेक्षणहरुका अनुसार ट्रम्प समर्थक मतदाताको संख्या घटिरहेको छ। साथै उनले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्।

अर्बपति व्यापारीबाट राजनीतिज्ञ बनेका ट्रम्पले नोभेम्बर ८ तारिखमा हुने चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार रहेकी हिलरी क्लिन्टनलाई जिताउन पक्का धाँधली गरिने बताएका थिए।

तर त्यसको तीखो आलोचना गर्दै राष्ट्रपति ओबामाले ट्रम्पलाई रोइकराई बन्द गरी मतदातासमक्ष आफ्ना विषयवस्तु राख्न सुझाव दिएका छन्।

आलोचना

ओबामाले ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रंशसा गरिरहेको सन्दर्भबारे बोल्दै रुसी नेता प्रति यस्तो किसिमको चाप्लुसी विगतमा कहिल्यै नभएको उल्लेख गरे।

ट्रम्पले आफु राष्ट्रपतिमा निर्वाचित भए कार्यकाल शुरु गर्नुअघि नै पुटिन र रुसी अधिकारीसँग भेटवार्ता गर्ने बताएका थिए।

ट्रम्प र क्लिन्टनबीच बुधबार लास भेगसस्थित नेभाडा विश्वविद्यालयमा तेश्रो र अन्तिम प्रत्यक्ष बहस हुँदैछ।

bbc बाट साभार