‘बन्दुक देखाएर भागेका’ सलमान खान - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

‘बन्दुक देखाएर भागेका’ सलमान खान



हिन्दुस्तान पत्रिकामा छापिएको समाचारअनुसार सलमान खानले सिकार खेलेको गाउँवासीले देखेका थिए। तर खान उनीहरूलाई “बन्दुक देखाएर भागेका थिए”।

प्रत्यक्षदर्शीको भनाइमा आधारित खबरमा सो पत्रिकाले लेखेको छ सलमान भाग्न थालेपछि उनलाई केही व्यक्तिले मोटरसाइकल चढेर लखेटेका भए पनि उनी बन्दुक ताक्दै जीपमा भाग्न सफल भए।

उनीहरूले त्यो जीपको नम्बर टिपेर उजुरी गरे।

बिहीवार भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई २० वर्षअघि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको हो।

‘हम साथ साथ हैं’ नामक एक फिल्मको छायाङ्कनको बेला राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।

जोधपुरस्थित अदालतबाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौँ प्रहरी तैनाथ गरिएका थिए।

सोही मुद्दामा आरोपित अन्य चार फिल्म कलाकारहरूलाई भने अदालतले निर्दोष ठहर गरेको छ।

जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ।

बाउन्न वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।

तर संवाददाताहरूका अनुसार त्यसका लागि उनले कम्तीमा केही दिन जेलमा बिताउनुपर्नेछ।

यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा चाहिँ सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो। बीबीसी