पुनर्वासलाई बालमैत्री नगरपालिका बनाउन अभिमुखिकरण कार्यक्रम सञ्चालन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

पुनर्वासलाई बालमैत्री नगरपालिका बनाउन अभिमुखिकरण कार्यक्रम सञ्चालन



हेमन्त न्यौपाने
पुर्नवास , कञ्चनपुर । देशका विभिन्न स्थानीय निकाय तथा स्थानीय तहहरुले बालमैत्री स्थानीय शासन अवलम्बन गर्दैगर्दा कञ्चनपुरको पुनर्वास नगरपालिकाले समेत सो अभियानलाई अवलम्बन गर्दै घोषणा गर्ने तयारी गरेको छ ।

भारतीय सीमा संग जोडिएर रहेको सुदुरपश्चिमकै ग्रामीणभेगमा अवस्थित यस नगरपालिकाले नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्वन्धी महासन्धिलाई सन् १९९० मा अनुमोदन गरेको बालअधिकार अवधारणालाई अवलम्बन गर्दै बालमैत्री स्थानीय शासन सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै घोषणा गर्नेगरि तीन दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा नगर उपप्रमुख देखि नगरपालिकाका सम्पुर्ण निर्वाचित वडाध्यक्षहरु, कार्यपालिका सदस्य, समाजिक परिचालिका, नगरपालिका भित्रका विद्यालयका प्रधानध्यापक, पत्रकार तथा सरोकारवाला निकायलाई सहभागी गराएको छ ।

औपचारिकरुपमा सुरुभएको कार्यक्रममा प्रमुखअतिथि संस्कृतिकविद तथा पुर्वशिक्षा मन्त्री मोदनाथ प्रशिद रहनुभएको थियो । प्रमुख अतिथि प्रशिदले अबको शिक्षाप्रणाली शिपमुलक तथा व्यवसायी मुलक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले किताबी ज्ञानले मात्र नभै संस्कृति र प्राकृतिकले धनि हाम्रो देश व्यवहारिक ज्ञान र शिपको अभावले लाखौं यूवाहरू खाडी मुलुकमा जान बाध्य हुनुपरेको बताउनु भयो । उहाँले जातीय छुवाछूत र भेदभावले गर्दा समेत हाम्रो देखि पछि परेको बताउनुभयो । जातीय छुवाछूतले समाजलाई सहि दिशानिर्देश नगर्ने बताउँदै बालमैत्री नगर तर्फ अग्रसर भएको प्रति उहाँले सकारात्मक पहल रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले स्थानीय सरकारले बालबालिकाका हकहित र चाहनाको सम्वोधन गर्न सक्ने हुनेले यस सकारात्मक कदमलाई आत्मसात गरिएको बताउनुभयो । उहाँले बालमैत्री नगर मात्र नभै नगरपालिकालाई उत्कृष्ट नगर बनाउने अभियानमा आफु रहेको बताउनुभयो ।

नेपालमा स्थानीय निकायहरुलाई बालमैत्री बनाउने महत्वाकाँक्षी अभियान सुरुभएको लगभग आधा दशक बितिसकेको छ । नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्वन्धी महासन्धि, १९८९ लाई सन् १९९० मा अनुमोदन गरेपश्चात् नेपालमा समेत बालअधिकारको अवधारणा सुरु भएको हो । यही अनुरुप बि.सं २०६८ मा बालमैत्री स्थानीय शासन रणनीति नेपाल सरकारले बनायो र त्यसै बर्ष बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ तर्जूमा गरी कार्यान्वयनमा ल्याएको हो । यीनै नीति र कानुनी दस्तावेज अनुसार नेपालका स्थानीय निकायहरुलाई बालमैत्री बनाउने अभियान तिब्र गतिमा अगाडि बढेको छ । यस क्रममा नवलपरासी जिल्लाको प्रगतिनगर अर्थात हालको देबचुली नगरपालिका पहिलो बालमैत्री गाविस घोषणा भएको थियोभने त्यसपछि नवलपरासी जिल्ला सुनवल नगरपालिका बालमैत्री नगर घोषणा भएको थियो । गतबर्ष पुनर्वास नगरपालिकाले यस नगरलाई बालमैत्री नगरपालिका बनाउन एक अवलोकन टोलि नवलपरासीको सुनवल नगरपालिका पठाएको थियो ।

तीन दिन सम्म सञ्चालन हुने कार्यक्रमका प्रमुख प्रशिक्षक बिष्णु प्रशाद चतुर्वेदी हुनुहुन्छ । पुनर्वासको न्यु सम्राट रेष्टुरेन्टमा सञ्चालन भईरहेको कार्यक्रम मंगलबार देखि सुरुभई विहिबार सम्म सञ्चालन हुनेछ ।