गृह मन्त्रीकाे छड्केमा ,विमानस्थलको अध्यागमन डेस्कमा चार कर्मचारी मात्रै - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गृह मन्त्रीकाे छड्केमा ,विमानस्थलको अध्यागमन डेस्कमा चार कर्मचारी मात्रै



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको छड्के निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा अध्यामगन कार्यालयको यात्रु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए। सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणका क्रममा तीन जना कर्मचारी अनुपस्थित भेटिएका हुन्।

अनुपस्थित कर्मचारीको विवरण लिई त्यसलाई तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने बताउँदै गृहमन्त्री थापाले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसी टिभी क्यामेरा अनुगमन डेस्कलगायतका विषयमा समेत जानकारी लिए।

गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशील हुन र सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीलाई निर्देशन पनि दिएका छन्। छड्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले विमानस्थल र अध्यागमन कार्यालयको सुधारलाई आफूले प्राथमिकतामा राखेको बताए।

उनले यसभित्रका गलत प्रवृत्तिबारे आफू जानकार रहेको बताउँदै त्यस्ता प्रवृत्तिहरु अब देखिएमा सो कार्यमा संलग्न जो सूकैलाई पनि कारबाहीको दायरमा ल्याउने स्पष्ट पारे।

‘यहाँबाट मानव तस्करीदेखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको जानकारी मैले पाएको छु, यदि त्यस्तो सञ्जाल रहेछ भन्ने त्यसलाई ताड्ने छु,’ गृहमन्त्री थापाले भने। खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।