शहिद गौतम परिवार र घाइते चापागाईंलाई आर्थिक सहयोग - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

शहिद गौतम परिवार र घाइते चापागाईंलाई आर्थिक सहयोग



हेमन्त न्यौपाने 

पुनर्वास , कञ्चनपुर । पुनर्वास र बेलौरी लगायत अन्य ठाँउहरुबाट रोजगारीका लागि जापान पुगेका नेपाली युवाहरुको समुहले शहिद गोविन्द गौतमको परिवार र सीमा झडपका घाइते चापागाईंलाई बुधबार आर्थिक सहयोग गरेको छ ।

पुनर्वास-३ का स्थानीय समेत रहेका आनन्द सुवेदी सहितको टिमले घाइते तथा सहिद परिवारलाई नगद रु. सत्तरी हजार सहयोग गरेको हो । सहयोगी आनन्द सुवेदीका पीता स्थानीय समाजसेवी तथा शिक्षक श्यामलाल सुवेदीले शहिद गौतम निवास पुनपा-४ पुगि औपचारिक कार्यक्रम गर्दै रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा आमन्त्रित भई शहिद निवासमा पुगेका सीमा घटनाका घाइते टिकाराम चापागाईंले सहयोग रकम बुझ्दै सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सीमा समस्या निर्क्योल होस भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । सीमा समस्या जिउकोतिउ रहँदा राज्यको कुनै उपस्थिति नभएको जस्तो आभास भएको बताउनुभयो ।

सहयोगी आनन्द सुवेदीका पीता स्थानीय समाजसेवी तथा शिक्षक श्यामलाल सुवेदीले शहिद गौतम तथा घाइते चापागाईंलाई सहयोग गर्ने आफ्नो छोरा लगायत साथीहरु प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले देशको निम्ति आफ्नो प्राण दिने वीर सहिद तथा घाइतेलाई सहयोग गरेकोमा आफ्नो पुत्र तथा उनका साथीहरू प्रति गर्व लागेको बताउनुभयो । सुवेदीले देश बचाउन आफ्नो प्राण दिने व्यक्ति सहिद गौतमको घरमा पुग्न पाउँदा हर्षित समेत भएको बताउनुभयो ।

सहिद गौतमका पीता खिमलाल गौतमले सहयोगी हातहरुलाई धन्यवाद दिँदै तत्कालीन गृहमन्त्रीले समेत सीमा समस्या यथासिघ्र निर्क्योल गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म केहि हुन नसक्नु दु:खद कुराभएको बताउनुभयो ।

सहिद पत्नी लक्ष्मी गौतमले समेत राज्यले गर्नुपर्ने काम सहयोगी हातहरुले गरिरहनुभएको प्रति आभार व्यक्त गर्दै सरकारले गत बर्षदेखि जागिर दिनेभनेतापनी अहिलेसम्म कुनै वास्ता नगरेको बताउनुभयो । स्मरण रहोस् यहि फागुन २६ गते सहिद गौतमको बार्षिक स्मृति दिवसको कार्यक्रममा चैत १ गते देखि रोजगारी दिनेभनी मञ्चबाट नै पुनर्वास नगरपालिका प्रमुख जीवनराज थापाले उद्घोष गर्नुभएको थियो ।

सहिद गोविन्द गौतम सीमा सुरक्षा संघर्ष समितिका अध्यक्ष चन्द्रमणी गैरेले देशको निम्ति प्राण आहुती दिने सहिद प्रति राज्य समेत अनुदार रहेको टिप्पणी गर्नुभयो । उहाँले सहिद परिवार घाइते परिवार तथा सीमासमस्याका विषयमा सरकारले बोल्ने बाहेक अन्य कुनै काम गर्न नसकेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता सहिद गोविन्द गौतम सीमा सुरक्षा संघर्ष समितिका अध्यक्ष चन्द्रमणी गैरेले गर्नुभएको थियोभने प्रमुख अतिथिमा सहयोगी सुवेदीका पीता श्यामलाल सुवेदी रहनुभएको थियो ।

कार्यक्रममा सहिदगोविन्द गौतम सीमासुरक्षा संघर्ष समितिका पदाधिकारीहरु, पत्रकार, स्थानीय तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । औपचारिकरुपमा सुरु गरिएको कार्यक्रमको सञ्चालन पत्रकार सुनिल कुमार लोले गर्नुभएको थियो ।