नक्कली प्रहरी बनेर महिलाले ठगी गरेपछि.. - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

नक्कली प्रहरी बनेर महिलाले ठगी गरेपछि..



काठमाडौँ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने कोपिला बोहरा रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आज बालाजुबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झण्डै रु सात लाख ठगी गरेको पोखरेलले जानकारी दिए ।

बोहराले दैलेख घर भएका राधा शाहीसँग रु एक लाख ४५ हजार, सिन्धुपाल्चोकका रेणुका भण्डारीसँग रु ५० हजार, विमला खड्कासँग रु १५ हजार, जुनाकुमारी खड्कासँग रु १२ हजार, मीना सुनुवारसँग रु १९ हजार ठगेकी छन् । यस्तै, अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ ।मकालु खबरको सहयोगमा