भारतमा म:म बेचेर नेपाली युवा करोडपति !
कोलकाता (भारत) — ‘नेपालको लोकप्रिय खाजा म:मलाई ब्रान्डका रूपमा स्थापित गर्न सके गज्जब हुन्छ ।’ यही सोचले भारतको कोलकातामा व्यापार थालेका नेपाली युवा विनोद हुमागाईं अहिले करोडपति बनेका छन् ।
‘वाउ म:म’ नामको उनको ब्रान्ड भारतमै सर्वाधिक रुचाइएको र विश्वसनीय ब्रान्ड बनेको छ । ३२ वर्षीय हुमागाईंले काभ्रे धुलिखेलको पुर्ख्यौली थलोबाट अध्ययन गर्नका लागि भारत छिरेका हुन् । केएफसी, म्याकडोनल्ड र पिज्जा हटजस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई कोलकातामा ‘वाउ म:म’ ले कडा चुनौती दिइरहेको छ । कोलकातामा मात्रै म:म बिक्रीका लागि उनका ७४ वटा आउटलेट छन् । भारतकै उत्तरप्रदेश, नयाँदिल्ली, केरला, कर्नाटक, उडिसालगायत ९ प्रदेशमा वाउ म:मका १ सय ६० आउटलेट छन् ।
भ्यालेन्टाइन डेमा कोलकाताका युवा–युवतीलाई चकलेट म:मको बिल्कुलै नौलो स्वादसहितको प्रणय दिवस विशेष व्यञ्जन बनाएका थिए । म:म स्टोरमा भेज र चिकेन मात्र नभई मसरुम र बर्गर म:मसहित १ दर्जनभन्दा बढी परिकारका म:म उपलब्ध हुन्छ । ‘ग्राहकले जुन फ्लेभरको म:मको स्वाद खोज्छन्, हामी त्यही स्वाद पस्कन तत्पर हुन्छौं,’ विनोदले भने, ‘कमर्सको विद्यार्थी भएकाले व्यवसायमा नयाँ प्रयोग गर्न कहिल्यै डराउँदिनँ, वाउ म:मको सफलताको रहस्य यही हो ।’
कोलकाता महानगरको मुख्य चोक र चौराहामा विनोदको ‘वाउ म:म’ का आउटलेट छ । कार चढेर उनी दैनिक आफ्ना अधिकांश आउटलेटहरूको अनुगमनमा निस्कन्छन् ।
२००८ मा कोलकाताकै सेन्ट जेभियर्स कलेजमा म्यानेजमेन्टमा स्नातक गरेपछि केही नयाँ गर्ने सोचले उनलाई म:म व्यापारमा सरिक भए । सहपाठी सागर दरियानीलाई उनले नेपालमा लोकप्रिय रहेको खाजा म:मको रेस्टुरेन्ट खोल्ने योजना सुनाए । सागरले पनि उनलाई साथ दिए । दुवैले ३० हजार रुपैयाँ लगानी गरेर कोलकाताकै बालट्रोनीमा एउटा सानो सटर भाडामा लिएर म:म पसल थापे ।
खानाका सौखिन कोलकाताका बंगाली समुदायले म:मलाई रुचाए । ग्राहकको थामी नसक्नु भीड हुन थालेपछि विनोदले आउटलेट विस्तार गर्दै गए । अहिले उनी २ सय ३० करोडको मार्केट भ्यालु भएको म:म ब्रान्डका मालिक बनेका छन् । कोलकातामा मात्रै अहिले उनका आउटलेटबाट दैनिक २ लाख प्लेट म:म बिक्री हुन्छ । झन्डै २ हजारलाई रोजगारी दिएका उनले सुरुमा काममा नेपालीलाई नै प्राथमिकता दिएका थिए । पछि नेपाली जनशक्तिले मात्रै धान्न नसकेपछि बंगालीलाई पनि रोजगारी दिएका छन् ।
भारतको थुप्रै राज्यका प्रमुख सहरहरूमा उनी आफ्नो आउटलेट विस्तारको योजनामा छन् । बंगलादेशको राजधानी ढाकाबाट पनि स्थानीय व्यवसायीहरूले त्यहाँ उनको वाउ म:मको आउटलेट खोल्ने साझेदारीसहितको प्रस्ताव गरेका छन् । ३ भाइमा जेठा विनोदका माहिला भाइ दिनेशले नयाँदिल्लीमा बसेर वाउ म:मको व्यापार सम्हाल्दै छन् । कान्छा भाइ लालकृष्ण कोलकातामै एक स्थापित बहुराष्ट्रिय कम्पनीमा मार्केटिङ म्यानेजर छन् । त्यहाँ अनुभव लिएपछि उनी पनि म:मकै व्यापार सम्हाल्न आउनेछन् ।
अहिले भारतका सबै सहरमा कम्तीमा एक–एक वटा आउटलेट स्टोर स्थापना गर्ने महात्त्वाकांक्षी योजना उनको छ । ‘वाउ म:मलाई भारतको प्रत्येक कुनामा पुर्याउने योजनामा लागेको छु,’ उनले भने, ‘र, यो सम्भव पनि छ ।’ उनको व्यावसायिक सफलताको कदर गर्दै भारत सरकारले गत वर्ष उनलाई ५ लाख रुपैयाँ राशिसहित ‘यङ इन्टरप्रेनर’ अवार्ड दिएको थियो ।
भारतका गृहमन्त्री राजनाथ सिंहले उनलाई त्यो पुरस्कार दिए । छोराको व्यावसायिक सफलताबाट उनका बुवा नारायण हुमागाईं पनि खुसी छन् । ‘भारतको कोलकाताजस्तो महानगरमा एउटा नेपालीको छोराले यत्तिको ठूलो सफलता हात पार्नु मेरा लागि मात्र होइन यहाँ बसेका ३ लाख प्रवासी नेपालीकै लागि गर्वको कुरो हो,’ नारायण भन्छन्, ‘मैले दु:खजिलो गरी छोराहरूलाई शिक्षादीक्षा दिएँ, उनीहरूको सफलता देखेर आत्मसन्तुष्टि मिल्छ ।’कान्तिपुरबाट