यसरी भयो नगरप्रमुखमाथि आक्रमण
कान्तिपुर : कैलाली । बोक्सी प्रकरणमा नगर प्रमुख ममताप्रसाद चौधरी नै रमिते बनेपछि नेकपा माओवादी विप्लव समूहका नेता ओमप्रकास पुनले सामाजिक संञ्जालमा कारबाही गर्ने चेतावनी दिए ।
त्यस्तो चेतावनी दिएको ५ दिनपछि छापामार शैलीमा नगरप्रमुख चौधरीलाई विप्लव समूहका कार्यकर्ताले सांघातिक आक्रमण गर्न पुगे ।
घटनाको भोलिपल्ट सोमबार राति ८ बजेर १० मिनेटतिर सुखडबजार नजिकै रहेको घरभित्र रहेका चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घरबाहिर बोलाए । कुराकानी गर्न नपाउंँदै प्रमुख चौधरीको टाउकोमा पहिलो पटक खुकुरी प्रहार भयो भने ४ जनामध्ये एक जनाले गोली चलाए । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरी प्रहारबाट गम्भीर चोट लागेको छ । उनीमाथि पहिला खुकुरी र पछि गोली हानिएको थियो ।
‘गोली चलेको आवाज सुनेपछि म बाहिर निस्कें,’ चौधरीका छिमेकी विशाल पाण्डेयले भने, ‘आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा उनीहरूले पेस्तोल देखाएर तर्साए ।’ नगरप्रमुख चौधरीकी भाउजूले पनि आक्रमण रोक्ने प्रयास गरेकी थिइन् ।
‘एकाएक ३ वटा मोटरसाइकलमा आएका आक्रमणकारीले आक्रमण गरेर फरार भए, धेरै सोच्ने समय थिएन,’ उनले भने, ‘तत्काल स्कुटीमा राखेर उनलाई नजिकै रहेको घोडाघोडी अस्पताल पुर्याएको हुँ ।’
घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई राति नै नेपालगन्ज मेडिकल कलेज लगिएको हो । नेपालगन्जबाट मंगलबार बिहान हेलिकप्टरबाट नगरप्रमुख चौधरीलाई काठमाडौंको शिक्षण अस्पतालमा पुर्याइएको छ ।
घटना भएको एक घण्टाभित्र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेसहितको टोली घटनास्थल पुगेको थियो । थप प्रहरी बलसहित घटनास्थल पुगेका प्रहरी प्रमुख घिमिरेको नेतृत्वमा राति नै प्रहरीले विप्लव समूहका ३ जना जिल्ला सचिवालय सदस्य पक्राउ गरेको हो ।
घटनास्थलबाट प्रहरीले बरामद गरेको से२प ३६७१ नम्बरको मोटरसाइकल चोरीको रहेको र नम्बरसमेत नक्कली हालिएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहानैदेखि प्रहरी उपरीक्षक घिमिरेसहितको टोलीले आक्रमणमा संलग्नको खोजी कार्यजारी राखेको छ । आक्रमणमा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए । उनले भने, ‘घटनामा संलग्न कोही पनि भाग्न नपाउने गरी प्रहरीले घेरावन्दी गरिसकेको छ ।’
घटनाका विषयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो फेसबुकमा चौधरीलाई जनकारबाही गरिएको उल्लेख गरेका छन्।
‘आर्थिक अनियमिततासँगै उनले कर्मचारी भर्नामा पनि आफन्तलाई बढी प्राथमिकता दिएका र बोक्सी प्रकरणमा मुछिएकालाई जोगाउन खोजेको देखियो’ उनले भनेका छन् ‘त्यसैले उनीमाथि जनकारबाही भएको हो।’
माओवादीका एक अर्का पोलिटब्युरो सदस्यले भने आफ्नो पार्टीको निर्णयअनुरूप नै नगरप्रमुख चौधरीमाथि कारबाही गरेको बताएका छन् । नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, ‘यो पार्टीको निर्णयअनुसार भएको जनकारबाही हो ।’
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका कमल क्षत्री, ह्दय बोगटी र भरत शाह र नाम नखुलेका अर्का १ जनासमेत चारै जना नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका जिल्ला सचिवालय सदस्य हुन् । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।