खप्तड आउने पर्यटकको संख्या न्यून ,चालू बर्षमा २९ पर्यटक - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

खप्तड आउने पर्यटकको संख्या न्यून ,चालू बर्षमा २९ पर्यटक



डोटी । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ ।

चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताउनुभयो ।

निकुञ्जमा बाहृय पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उहाले बताउनुभयो । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आवको सात महिनामा दुई लाखभन्दा बढी राजश्व संकलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । बाहृय पर्यटकबाट प्रतिव्यक्ति ३ हजार ३ सय ९० का दरले भ्रमण शुल्क लिने गरिएको छ ।

खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ ।

निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठमा दशहरा मेला तथा जनैपूणिर्माका दिन भव्य जात्रा लाग्छ ।

जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्छ ।