ओलीले न्यायालयलाई धम्क्याए : देउवा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओलीले न्यायालयलाई धम्क्याए : देउवा



काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले न्यायालयलाई धम्क्याएर राज्य संयन्त्रमाथि नियन्त्रण जमाउन खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मनोनीत तीन सदस्यलाई शपथ नगराउन भनी सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशमाथि टिप्पणी गर्दै न्यायालयलाई राजनीति नगर्न आग्रह गरेका थिए। ओलीको अभिव्यक्ति आएकै भोलिपल्ट सर्वोच्चले राष्ट्रिय सभामा मनोनीत सदस्यलाई शपथ नगराउन दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिनुपर्ने आदेश दिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला संघद्वारा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले ओलीको त्यही अभिव्यक्ति र अदालतको पछिल्लो आदेशप्रति इंगित गर्दै वाम गठबन्धन सरकारले राज्यका संवैधानिक अंगहरूमाथि हस्तक्षेप गरी नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन्। उनले आफूअनुकूल राज्यसंयन्त्र दुरुपयोग गर्न प्रधानमन्त्री ओलीले न्यायालयलाई समेत धम्क्याएको आरोप लगाए। उनले सरकारको हस्तक्षेपकारी र निरंकुश क्रियाकलापको सशक्त प्रतिकार गर्न पार्टी र भ्रातृ संगठनलाई सुदृढ बनाउन आग्रहसमेत गरे। कान्तिपुर बाट लिएको