कैलाली कारागारमा अनसन बसेका दुई जना अस्वस्थ - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

कैलाली कारागारमा अनसन बसेका दुई जना अस्वस्थ



कैलाली । कैलाली कारागार भित्रै आमरण अनसन बसेका २४ जना थुनुवा मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।

अस्वस्थ भएपछि सेती अञ्चल अस्पतामा उपचार गरी उनीहरुलाई कारागार लगिएको छ ।

आइतबार साँझबाट आमरण अनसन थालेका लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको निमित्त जेलर भक्तबहादुर विष्टले जानकारी दिए ।

उनीहरुलाई अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले चेकजाँच गरेका छन् ।

डाक्टरका अनुसार लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको छ । उनको आवश्यक जाँच भइरहेकोले रिपोर्ट आउन समय लाग्ने डाक्टरको भनाइ छ । यस्तै किसन चौधरीको प्रेसर बढेको बताइएको छ ।

फागुन २० गतेदेखि तीन बुँदे माग राख्दै आमरण अनसन बसेका उनीहरू सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्रसहित शपथग्रहण गराउनुपर्ने, पूर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहाई गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।