देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने डाक्टरले काउन्सिललाई समेत झुक्याए - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने डाक्टरले काउन्सिललाई समेत झुक्याए



कान्तिपुर : काठमाडौँ । देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन्।

काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले ‘बिरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौं’ भनेर दाबी गरेका थिए। शल्यक्रियामा डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकार संलग्न थिए।

चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो। एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि पौडेल उपचारका लागि चितवनबाट नर्भिकमा आएकी थिइन्।

‘काउन्सिलबाट कारबाहीमा परिने डरले उनीहरूले सरासर ढाँटेका हुन्,’ काउन्सिलका एक पदाधिकारीले भने, ‘जनदबाब पर्दा बिरामीसँग गल्ती स्वीकार गरेर ढाकछोप गर्ने र कानुनी कारबाहीमा परिने डरले काउन्सिलमा आफूले गल्ती नगरेको दाबी गर्ने प्रवृत्ति देखियो।’

डा। नेपाल, डा।रञ्जितकार, नर्भिकका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंह, बिरामीका पति किशोर पौडेललगायतबीच भएको लिखित सहमतिपत्रमा ‘भूलवश मानवीय त्रुटिका कारण दाहिने घुँडाको अप्रेसन हुन गएको तथ्य उपचारमा संलग्न हामी चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार, नर्भिक हस्पिटल स्वीकार गर्दछौं’ उल्लेख छ।

‘यो लापरबाही नै हो, सार्वजनिक रूपमा समेत उहाँहरूले आफ्नो गल्ती स्वीकार गरिसक्नुभएको छ,’ काउन्सिलका ती पदाधिकारीले भने, ‘यो प्रकरणमा कसैले उजुरी नदिए पनि जनचासोको विषय भएकाले काउन्सिलले आफैं छानबिन थालेको हो ।’