शेरबहादुरमाथि गगनको प्रहार: हौसिनेले बुझुन्, पार्टीमा हस्तक्षेप गरेरै छाड‍्छौँ - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

शेरबहादुरमाथि गगनको प्रहार: हौसिनेले बुझुन्, पार्टीमा हस्तक्षेप गरेरै छाड‍्छौँ



अन्नपूर्ण : काठमाडौँ । देशमा भएका तीनै तहका निर्वाचनमा नमिठो पराजय भोगेपछि कांग्रेस भित्र पुनर्जागरण अभियान तीब्र भएको छ। अझ प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि युवा नेताहरु गगन थापा, नविन्द्रराज जोशी, विश्वप्रकाश शर्मा र धनराज गुरुङसहितले पुनर्जागरण अभियानलाई सशक्त बनाए । तर, यो अभियानमा पानी फेर्दै निर्वाचनमा पार्टीले हार्दा नेतृत्व लिएका सभापति शेरबहादुर देउवाले नैतिकताको आधारमा पद छाड्नुको साटो फेरि संसदीय दलमा निर्वाचित भएका छन् ।

पार्टीमा विकल्पको रुपमा हेरिएका कोइराला परिवार सदस्यको मत पाएर देउवा गणेशमान पुन प्रकाशमान सिंहलाई भारी मतले हराउँदै संसदीय दलको नेता बने ।
देउवा नै संसदीय दलको नेता बनेपछि युवा नेता गगन थापाले त्यसबारे प्रतिक्रिया दिँदै पार्टी पुनर्जागरण अभियान नसकिएको र आफु पनि नथाकेको प्रतिक्रिया दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘कांग्रेस पुनर्निर्माण फगत नेतृत्व परिवर्तनले होइन, सम्पूर्णरुपमा नीतिगत र सांगठनिक पुनर्संरचनाको नवीन सोचले हुनेछ भन्नेमा विश्वस्त छौँ’, उनले भनेका छन्, ‘त्यसैले छुट्टै विचारसहित पार्टीमा हस्तक्षेप गर्ने प्रयत्न भइरहेको हो । यो अभियान अझ विस्तारित हुँदै जानेछ।’

गगनले आफैँले छानेका मतदाताबाट चुनिने सजिलो चुनावको नतिजाले नहौसिन भन्दै घुमाउरो भाषामा देउवामाथि पनि प्रहार गरेका छन् । कोही हौसिँदैमा आफूहरु नथाकेको र नहारेको प्रतिक्रिया पनि गगनले दिएका छन् ।

‘आफैंले छानेका मतदाताबाट चुनिने सजिलो चुनावको नतिजाले कसैलाई धेरै हौस्याएको होला, तर हामी न थाकेका छौं न त हारेका नै’, उनले भनेका छन्, ‘पार्टी पुनर्जागरणको हाम्रो अभियानको औचित्य झन् पुष्टि भएको छ। यो अभियान अझ सशक्त ढंगले अगाडि बढ्ने छ।’