‘महँगो उपहारको’ लोभमा पर्दा ५१ लाख गयो - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

‘महँगो उपहारको’ लोभमा पर्दा ५१ लाख गयो



        हुन्डी कारोबारीको लट्री धन्दा

काठमाडौं । पर्वतकी पवी क्षेत्री र लक्ष्मीदेवी चपाई ‘महँगो उपहार’ को नाममा ठगीएका छन् । हुण्डी कारोबारीहरुले नाटकीयरुपमा उनीहरुबाट ५१ लाख रुपैंया ठगेको रहस्य खुलेको छ । ठुलो रकम ठगिएपछि उनीहरु चार दिनदेखि प्रहरी कार्यालय धाइरहेका छन् ।

पोखरास्थित पृथ्वी नारायण क्याम्पसबाट स्नातक पास गरेर जर्मनी जान काठमाडौंमा आईएलटीएस तयारी गरिरहेका उनीहरुको जीवनमा नसोचेको घटना आइलागेको छ । दुई महिना अघि फेसबुकमा बेलायतका ब्रेन लुसिया बकार नामका व्यक्तिले सुरुमा लक्ष्मीलाई फ्रेन्ड रिक्वेस्ट पठाए ।

लक्ष्मीले एसेप्ट गरेपछि ब्रेनले तुरुन्तै फोन गरेर ‘तिमीलाई महँगो उपहार पठाएको छु लिनु’ भन्ने खबर गर्छन् । लक्ष्मीले खुसी हुँदै उक्त कुरा साथी पबीसँग सेयर गर्छिन् । दुवै मिलेर उक्त गिप्ट लिने प्रयासमा जुट्छन् । गिफ्टमा ४० हजार पाउन्ड र महँगा गहना रहेको भनिएको हुन्छ । फेसबुकपछि ब्रेनसँग ह्वाट्सएपमा समेत गफ भयो दुवैको ।

एकाएक ब्रेनले गिफ्ट भन्सार कटाउन ४५ हजार रुपैयाँ पठाउन पवीलाई आग्रह गर्छन् । उनीहरुले पैसा बुढामाया थामसुङको नाममा आईएमईबाट पैसा पठाइदिन्छन् । ब्रेनले पैसा पठाउन भारतबाट फोन आउने जानकारी गराउँछन् पवीलाई । भारतीय नम्बरहरु क्रमश ः ९१८५२७७४९८६७, ९१६३२११८४३७३ र ९१७०५३३६१२८४ बाट पवीलाई फोन आउँछ ।

ती भारतीय नागरिकले आफू दिल्लीमा रहेको र तपार्इँहरुको गिफ्ट आइपुगेको छ भन्सार कटाउन थप पैसा चाहिने भयो भन्दै पैसा पवी र लक्ष्मीलाई फोन गर्छन् । उनले काठमाडौं सीतापाइलाका जयराम कार्कीको फोन नम्बर दिएर उसैसँग सम्पर्क गर्न लगाउँछन् ।

जयरामले भने अनुसार पवी र लक्ष्मीले सुशीला थामसुङको नाममा एक लाख ५० हजार, विमला थामसुङको नाममा सिटी एक्सप्रेसबाट एक लाख २५ हजार र साधना नामकी युवतीको नाममा सिटी एक्सप्रेसबाटै एक लाख २५ हजार रुपैंया गरी चार लाख ५० हजार रुपैयाँ पठाउँछन् । यति हुँदा पनि पवी र लक्ष्मीले ठगीएको थाहा पाउँदैनन् ।

गिफ्ट नपाएपछि पवी र लक्ष्मीले जयरामसँग सम्पर्क गर्छन् । जयरामले थप दिल्लीसम्म गिफ्ट आइपुगिसक्यो उतैबाट फोन आउँछ भनेर टार्छन् । त्यसपछि दिल्लीबाट पुन फोन आउँछ । ‘सीधै पैसा पठाउन नमिल्ने भयो । भारतीय रिजर्भ बैंकको खातामा पैसा पठाएपछि गिफ्ट सजिलै नेपाल ल्याउन सजिलो हुन्छ’ भनेर थप पैसा दिल्लबाट मागिन्छ । पवी र लक्ष्मीले जयरामलाई दिल्ली पठाउन पटकपटक गरी ४१ लाख रुपैंया दिन्छन् । एकाएक बेलायती नागरिक भनिएका ब्रेनले आफू दिल्ली आएको र यति ठूलो धनराशीको स्रोत देखाउन नसकेपछि प्रहरीले पक्राउ ग¥यो छुटाउन थप पाँच लाख ६५ हजार पठाउन पवी र लक्ष्मीलाई आग्रह गर्छन् ।

झण्डै आधा करोड रुपैंया पठाइसक्दा पनि गिफ्ट नआएपछि पवी र लक्ष्मीले परिवारमा कुरा साटासाट गर्छन् । परिवारका सदस्यले ‘तिमीहरु ठगियौ’ भन्दै प्रहरीमा लिएर पुग्छन् दुवैलाई । महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धान गरी जयराम, खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेश्नल नामक कस्मेटिक होलसेलका म्यानेजर कृष्ण गोपाल अग्रवाल र सिन्धुपाल्चोक घर भई खिचापोखरीमै नेपाल लोजेष्टिक प्रालिका कामदार मुस्कान तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुरुबाट १५ लाख रुपैंया बरामद भएको छ । प्रहरीका अनुसार पवी र लक्ष्मीबाट लिएको पैसा जयरामले नारायण र नारायाणले दिल्लीका पंकज अग्रवाललाई पठाएका थिए । अनुसन्धान गर्दै जाँदा पवी र लक्ष्मी हुन्डी कारोबारीको चंगुलमा फसेको रहस्य खुलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पवी र लक्ष्मीलाई हुन्डी कारोबारीले ठग्ने नियतले पैसा लिएको देखिएको छ । यो घटनामा नारायण अग्रवाल (हाल अमेरिका) र नेपाल लजेष्टिक प्रालिका सञ्चालक राकेश गुप्ता फरार छन् ।

पोखरेलल काठमाडौंमा हुन्डी कारोबारीको अवस्था डरलाग्दो रहेको बताउँछन् । उनले भने, ‘आर्थिक स्थितिलाई कमजोर तुल्याउन हुन्डी कारोबारीहरु सक्रिय छन् । गैरकानुनी सम्पत्ति मुलुक बाहिर कानुनी बैधता पाउन हुन्डी कारोबारीहरु संगठीत देखिन्छन् । हामी रोक्ने प्रयासमा छौं ।’

ब्याजमा लिएको पैसा डुब्यो: पवी–लक्ष्मी

काठमाडौं प्रहरी कार्यालयमा मलिन अनुहारमा देखिएका पवी र लक्ष्मी आफ्नो समस्या सकभर छिटो सुल्झ्योस भन्दै प्रहरी अधिकृतका कोठा चाहरीरहेका देखिन्थे । उनीहरुले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘ब्याजमा ऋण गरेर लिएको पैसा डुब्यो ।’ लक्ष्मीकी दाजु अमेरिकामै बस्छन् ।
जर्मनी जान भिसा लगाउन पैसा चाहियो भन्दै दाजुमार्फत लिएको पैसा लक्ष्मीले गिफ्ट पाउने आशमा हुन्डी कारोबारीलाई बुझाएपछि उनी तनावमा छिन् । लक्ष्मीको मात्रै ३९ लाख ५० हजार र पवीको १२ लाख ६० हजार रुपैंया डुबेको छ ।

लक्ष्मीले १९ लाख ५० हजार रुपैंया १३ प्रतिशत ब्याजमा ऋण लिएको बताईन् । पवीले पनि ऋणमै १२ लाख ६० हजार लिएकी हुन् । ‘ जर्मन जान भनेर दाजुलाई ढाँटेर पैसा लियौं तर अहिले पछुतो लागेको छ,’ लक्ष्मीले अन्नपूर्णसँग भनिन्,‘यसरी अरु ठगीएका छन् भन्ने जान्दाजान्दै पनि हामी ठगीयौं।’ लक्ष्मीका अनुसार पैसा दिएपछि फिर्ता माग्दा दिल्लीबाट फोन गरि गिफ्ट नबुझे कानुनी झमेलामा फस्ने भन्दै उनीहरुलाई धम्क्याइथ्यो ।अन्नपूर्ण पोस्टबाट लिएको । फाइल तस्बिर :