महिलाको मृत्युपछि महाकाली अञ्चल अस्पताल तनाबग्रस्त
धनगढी ,कैलाली । महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याईएकी एक महिलाको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ ।
शुक्रबारराति १२ बजे उपचारका लागि ल्याईएकी भीमदत्त नगरपालिका ११ भुजेलाकी ४० वर्षिया कलावती सार्कीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।
अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तजनले दोषिलाई कारबाही र मृतकलाई क्षतिपूर्तिको माग राख्दै विरोध गरिरहेका छन् ।
राति १२ बजे ईमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएपनि डाक्टर बिहान ५ बजे मात्रै पुगेको मृतकका परिवारको आरोप छ । डाक्टर पुगेर चेकजाँच गरिसकेपछि मृत घोषणा गरेका हुन् ।
समयमा बिरामीलाई हेर्न डाक्टर नपुगेका कारणले बिरामीको मृत्यु भएको भन्दै परिवारजनले लापरबाही गर्ने माथि कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
मृतक महिलाको शव महाकाली अञ्चल अस्पतालमै राखिएको छ । परिवारजनले घट्नाको छानविन नभएसम्म शव पोष्टमार्टम समेत नगर्ने र शव पनि नबुझ्ने अडान राखेका छन् । Radio dhangadi बाट