बिना मगरलाई मन्त्री बनाउन प्रदेश कमिटी एकमत, लेखराज भट्ट पार्टी संगठनमा काम गर्न इच्छुक - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

बिना मगरलाई मन्त्री बनाउन प्रदेश कमिटी एकमत, लेखराज भट्ट पार्टी संगठनमा काम गर्न इच्छुक



काठमाडौं । कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरलाई केन्द्र सरकारमा मन्त्री बनाउन नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश कमिटी एकमत भएको छ ।

माओवादी केन्द्रबाट ७ नम्बर प्रदेशमा सरकार बन्दा महाकाली अञ्चलको प्रतिनिधित्व नभएको र महिलालाई प्राथमिकता दिने नीति अनुसार कञ्चनपुरबाट बिना मगरलाई मन्त्रीमा सिफारिस गर्ने तयारी भइरहेको प्रचारप्रसार विभाग संयोजक ओमविक्रम भाट ‘सरल’ले बताए । ‘मन्त्रीका लागि प्रदेश इन्चार्ज लेखराज भट्टको नाम प्रचारप्रसार गरिएको छ । तर, उहाँ मन्त्री नबन्ने पक्षमा हुनुहुन्छ,’ सरलले भने, ‘भौगोलिक सन्तुलन मिलाउन महाकाली अञ्चलको प्रतिनिधित्व गराउनुपर्ने उहाँले बताउनुभएको छ ।’

मन्त्री भागबण्डा गर्दा ७ नम्बर प्रदेशले मन्त्री पाउने/नपाउने एकीन नभएपनि प्रदेशबाट बिना मगरलाई मन्त्री बनाउन लविङ गरिने माओवादी केन्द्रका प्रदेश इन्चार्ज लेखराज भट्टले बताए । ‘सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेश विगतदेखि नै केन्द्रबाट उपेक्षामा पर्दै आएको छ,’ भट्टले भने । विस्तार हुने तयारीमा रहेको मन्त्रिपरिषद्मा ७ नम्बरलाई मन्त्री नदिने षड्यन्त्र भइरहेकाले केन्द्रमा सशक्त लविङ गर्नुपर्ने स्थानीय नेता कार्यकर्ताको माग छ ।

प्रदेश सरकार बनाउँदा माओवादी केन्द्रबाट मुख्यमन्त्री र २ मन्त्री सेति अञ्चलबाटै बनेका छन् । महाकाली अञ्चलको कञ्चनपुर जिल्लाबाट प्रदेश सरकारमा कुनै पनि मन्त्री बनेका छैनन् । ‘सत्ताशक्ति सन्तुलन मिलाउन इन्चार्ज भट्ट महाकाली अञ्चलको प्रतिनिधित्व गराउने लविङमा लाग्नुभएको छ,’ सरलले भने, ‘इन्चार्ज भट्टले मन्त्रीभन्दा पनि पार्टी संगठनमा खटिन इच्छुक हुनुहुन्छ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिना मगर कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएर विजयी भएकी हुन् । ७ नम्बर प्रदेश सरकारमा वाम गठबन्धनबाट कञ्चनपुरको प्रतिनिधित्व नभएपछि केन्द्र सरकारमा मन्त्री बनाउन जिल्लावासीले जोडदार आवाज उठाएका छन् । वाम गठबन्धनले ७ नम्बर प्रदेश सरकार बनाउँदा कञ्चनपुरबाट कसैलाई पनि सरकारमा समावेश गरेका छैनन् । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्ला ७ नम्बर प्रदेशको कैलालीपछि बढी जनसंख्या भएको जिल्ला हो ।

निर्वाचनमा बिना मगर माओवादी केन्द्रका महिला उम्मेदवार र ७ नम्बर प्रदेशका वाम गठबन्धनका उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले विजयी भएकी थिइन् । निर्वाचनमा बिना मगरले ल्याएको मतले उनको लोकप्रियता पुष्टि भएको थियो । बिना मगर बाल्यकालदेखि बालकलाकार हुँदै वामपन्थी आन्दोलनमा सहभागी भएर जनयुद्धमा होमिएकी थिइन् । जनयुद्धकालमै विद्यार्थी राजनीतिमा रहेकी बिना मगरलाई तत्कालीन शाही सेनाले नियन्त्रणमा लिएर चरम यातना दिएको थियो । बिना मगर कञ्चनपुरको दुर्गम क्षेत्र पुनर्वासमा जन्मिएर राष्ट्रिय राजनीतिमा लोकप्रिय बनेकी छन् । एभरेस्ट दैनिक बाट