यसरी बने ‘सुकुम्बासीको छोरो’ दोस्रोपटक देशको प्रधानमन्त्री - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

यसरी बने ‘सुकुम्बासीको छोरो’ दोस्रोपटक देशको प्रधानमन्त्री



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो । उनी असार ३२ – ४० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका एक सफल राजनीतिज्ञका रुपमा चिनिन्छन् ।

 

उनको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ( तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।

झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उनले आमा गुमाए । उनी सानो छँदा कन्काईमा आएको बाढीले घर जग्गा सबै बगायो । त्यसपछि उनको परिवार सुकुम्बासी भयो ।

सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण उनको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । हजुरबा र हजुरआमाले ओलीलाई हुर्काए, पढाए । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उनको भेट भयो ।

चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो ।
विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे । अरुको खुलेर आलोचना पनि गर्ने अ‍ोली एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सकेनन् । २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही वर्षदेखि भूमिगत भए । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि संघर्षमा होमिएका ओली ०३० देखि ०४४ सालसम्म १४ वर्ष जेल परे । जेलभित्रैबाट पनि उनी पार्टीको रजनीतिक काममा भने सक्रिय रहे । उनले जेलबाटै चिठीपत्रका माध्यमबाट पार्टीमा विचार प्रवाह गर्थे ।

जेलभित्र गम्भीर बिरामी परेर मृत्युको मुखमा पुगेका ओलीलाई कसरी बचाइयो भन्ने कुरा उनका राजनीतिक सहयोद्धा राधाकृष्ण मैनालीले आफ्नो संस्मरणमा लेखेका छन् ।

ओलीले जेलबाट छुटेपछि ०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फवाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए । त्यसपछि उनी पार्टीमा मदन भण्डारीको दाहिने हात बनेर एकाएक उदाउन थाले ।

२०४८ सालदेखि उनले निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा काम गर्दै आए । २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए । पराजित भएपनि राष्ट्रिय राजनीतिमा उनले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी भएपछि त ओली पार्टीको आन्तरिक पदमा हरेकपटक सफल हुँदै आएका छन् ।

०४९ सालमा सम्पन्न नेकपा (एमाले)को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई उनले साथ दिए ।

सशस्त्र विद्रोहको विपक्षमा ०२८ सालमै मत जाहेर गरे पनि अल्पमतमा परेका ओली २० वर्षपछि बहुदलीय जनवादको नीति पारित भएपछि त्यसका प्रवक्ता बनेर उभिए । त्यसैले अहिले पनि ओलीलाई एमालेमा बहुदलीय जनवादको ब्याख्याता भन्ने गर्छन् उनका समर्थकहरु । यद्यपि बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी हुन् ।

मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएलगत्तै एमालेमा नेतृत्वका दाबेदार बन्न चाहे पनि ओलीको पक्षमा माहौल बनेन । माधव नेपाल एकाएक पार्टीको नेतृत्वमा स्थापित भएपछि ओली उनको सहयोगी बने ।

माधव नेपालसँग ओलीको सम्बन्ध सधै उतार–चढावपूर्ण रह्यो । पार्टीमा सधैं प्रतिपक्षी भूमिकामा रहे पनि नेपाललाई निणरयक संकटका बेलामा जोगाउन ओलीले निणरयक भूमिका खेले ।

एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले ०५९ सालमा भएको सातौँ महाधिवेशनमा प्रस्ताव गरे । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पराजित भयो ।

तर, ०६५ सालमा ओलीकै सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली शुरु भयो । आज आएर नेपालका सबै कम्युनिष्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूलनीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीको नेतृत्व र उनको बहुदलीय जनवादलाई साथ दिएका ओली पार्टी विभाजनका बेला नेकपा मालेविरुद्ध बडा रुपमा प्रस्तुत भएका थिए । उनले महाकाली सन्धीको बचाउमा उभिएर भारतप्रति नरम नीति लिएका थिए ।
बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा ओली पार्टी अध्यक्षका उम्मेद्वार थिए, तर उनी झलनाथ खनालसँग हारे । त्यसबेला ओलीले झलनाथ पक्षलाई माओवादी परस्त भएको आरोप लगाएका थिए ।

यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्री भैसकेका छन् ओली । पार्टी प्रमुख नहुँदा समेत सदैव चर्चाको केन्द्रमा रहँदै आएका ओली प्रष्ट बोल्ने र अडान राख्ने नेताको रुपमा परिचित छन् । मीठो उखानटुक्का प्रयोग गरेर व्यंग्य वाण हान्न खप्पिस ओली पछिल्लो समय नेकपा माअ‍ोवादी केन्द्रसँग पार्टी एकता गरेर नेपाली राजनीतिमा नयाँ रेकर्ड राख्ने दाउमा छन् ।

मुख्यमन्त्री नियुक्तीलगायतमा पाटीभित्र गुटबन्दी गरेको आरोप खेप्दै आएका ओली २०७२ साल असोज २४ गते पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमाले माअ‍ोवादीबाट साझा उम्मेदवारका रुपमा उभिएका ओलीलाई सरकारमा माअ‍ोवादी केन्द्रको पूर्ण समर्थन छ ।

विवाहः

पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका कुनै सन्तान छैनन् । भक्तपुर बालकोटमा र झापाको दमकमा घर भएका ओली उत्तरार्धमा परिवारका सादस्यका लागि पैसा र पदको बोझ बोक्नुपर्ने दायित्व छैन । विभिन्न पत्रपत्रिकाको सहयोगमा