यस्तो छ ११ बजे बस्दै गरेको प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठकको प्रक्रिया
पोखरा । पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सोमबार बस्दैछ ।
बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्नुहुने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ ।
त्यस्तै बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
बैठकमा प्रत्येक ठूला दलबाट तीन–तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक–एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम रहेको छ ।
बैठक करिब एक घण्टा १५ मिनेट हुने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताए ।
यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद छन् ।
जसमध्ये नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।
प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख) बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् ।
प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चारजना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ ।
प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आएका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।
संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको सोमबारको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ ।