तिलौराकोट सामुदायिक वन मानव कंकाल फेला - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

तिलौराकोट सामुदायिक वन मानव कंकाल फेला



जितपुर । कपिलवस्तुको वनगाई गोरुसिंगे बीचमा तिलौराकोट सामुदायिक वन क्षेत्रमा पर्ने हरकुर खोला नजिकै आइतबार २ वटा मानव कंकाल फेला परेको छ । मानव कंकाल देखेपछि स्थानीयले पत्रकारहरूलाई फोन गरी जानकारी गराएपछि पत्रकारहरूले घटनास्थल पुगी प्रहरीलाई खबर गरेका थिए ।

सो स्थानमा २ वटा मोबाइल र २ वटा मानव कंकाल टाउकोको अवशेष फेला परेको हो । घटनास्थलको प्रकृतिअनुसार चप्पल र कपडाको आधारमा महिला र पुरुषको हुनसक्ने अनुमान गरिएको भए पनि घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बरामद भएको मोबाइलको आधारमा प्रहरीले गरेको अनुसन्धानमा कंकाल रूपन्देही शुद्धोधन गाउँपालिका वडा नं १ सिसेनियाका अन्दाजी ३५ वर्षिया दशरथ मल्लाह र सैनामैना नगरपालिका १ की मनकुमारी सुनुवारको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

एउटा मोबाइलमा भएको नम्बरका आधारमा जानकारी लिँदा रूपन्देही सैनामैना घर भएको र निज महिलाको श्रीमानले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियामा आफ्नी श्रीमती हराएको र दशरथ मल्लाहले लगेको भनेर दिएको निवेदनको आधारमा कंकाल उनीहरूको नै हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

कंकालको थप पुष्टि गर्नका लागि उनीहरूको परिवारलाई इलाकामा बोलाइएको बताइएको छ ।