नेटवर्किङ ठगि गिरोह पक्राउ, ५ जना सार्वजनिक
बुटवल । नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै विभिन्न बहानामा नेपालीहरुलाई भारतको विभिन्न सहरमा पु¥याई उनीहरुबाट पैसा असुल्ने र जागिर पनि नलगाइदिने पैसा पनि फिर्ता नगर्ने ५ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको गोरखपुरमा कार्यालय रहेको ड्रिम डेभलोपर्स टे«डमार्ट प्रा.लि.मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लम्जुङ दोर्दी गाउँपालिका वडा नं. ५ का दर्पण लामा, दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरी छन् ।
उनीहरुलाई प्रहरीले ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरेको छ । चौधरी र लामा विरुद्ध रुपन्देही प्रहरीमा ३९ जना पीडितहरुले कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छन् । भारतकै बनारसमा रहेको विनविन टे«डमार्ट प्रा.लि.मा नेपालीहरुलाई पु¥याई ठगी गर्ने धादिङ रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगर छन् । उनीसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ ।
मगर विरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको रुपन्देहीका निमित्त प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
यस्तै भारतकै खुशीनगरमा रहेको फुलटन टे«डमार्ट प्रा.लि.मा जागिर लगाइदिने निहुमा ठगी गर्ने काभ्रेपलाञ्चोक गाउँपालिका ३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका १२ का दावा लामा छन् । उनीहरुसँग प्रहरीले ३७ लाख ५८ हजार विगो दावी गरेको डिएसपी पाण्डेले बताए । मोक्तान र लामाविरुद्ध रुपन्देही प्रहरीमा १८ जनाले जाहेरी दिएका थिए ।
प्रहरीका अनुसार उनीहरुले गाउँगाउँमा पुगेर सीधासाधा नागरिकलाई एजेण्टमार्फत् सम्पर्क गराई भारतका तीनवटा नेटवर्किङ कम्पनीहरुमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए । प्रहरी तथ्यांक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् ।
प्रहरीले आर्थिक वर्ष ०७३÷०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४÷०७५ को पुससम्म ३ सय २७ जना पुरुष तथा महिलाहरुलाई सीमा क्षेत्रबाट फर्काई परिवारको जिम्मा लगाएको छ ।