काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव



३० भदौ, काठमाडौँ। काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौँ जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोग’मा प्रस्ताव पेस गरेको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए ।

समितिका संयोजक तथा स्थानीय विकास अधिकारी गोपाल अधिकारीले काठमाडौँ जिल्लालाई एकीकृत रुपमा विकास गर्नका लागि एक स्थानीय तह पुग्ने भएकाले एक वटा प्रस्ताव गर्न सुझाव दिएको बताए ।

उनले जिल्लालाई आठ, नौ वा ११ तह बनाउने विकल्पमा राजनीतिक दलबीच कुरा नमिलेकाले एक बनाउने प्रस्ताव सबै दलले स्वीकार गरेको बताए ।  “जिल्लालाई नै एक स्थानीय तह बनाउँदा राम्रो हुने र पछि मेट्रोसिटीका रुपमा पनि विकास गर्दै लैजान सकिने प्रस्ताव राख्यौँ”– संयोजक अधिकारीले भने, “राजनीतिक दलले पनि एउटा बनाउनेमा सहमत हुनुभयो । हामीले अन्य विकल्पसहित एक स्थानीय तह हुने आयोगलाई सिफारिस गरेका छौँ ।”

आयोग सदस्य अधिकारीले काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने विषयमा छलफल गरिने जानकारी गराए ।‘‘समग्रमा जिल्लालाई एक स्थानीय तह बनाउने गरी आयोगमा प्रस्ताव आएको छ । पछि काठमाडौँलाई मेट्रोसिटी बनाउने गरी प्रस्ताव समितिले गरेको हो”– उनले भने, “हामीले एक स्थानीय तहबारे छलफल गर्छौं तर एक वटा बनाउन हाम्रो मापदण्डले दिँदैन ।”

आयोगले कम्तीमा हिमालमा तीन, पहाड र तराईमा चार स्थानीय तह पुनःसंरचना बनाउने मापदण्डको व्यवस्था गरेको छ ।

काठमाडाैं जिल्लालाई आयोगले आठ स्थानीय तह पुनःसंरचना गर्न निर्देशन दिएको छ । अहिलेसम्म आयोगमा ३७ जिल्लाबाट स्थानीय तहको पुनःसंरचना गरी विभिन्न खाका आइसकेका छन् ।

आयोगले आएका खाकामध्ये मापदण्डभित्र रहेको खाकालाई अन्तिम रुपदिने आयोगका सदस्य अधिकारीले जानकारी दिए ।

रासस