बालबालिकाको विचल्ली - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बालबालिकाको विचल्ली



गणेश पोख्रेल
सैनामैना । ६ वर्षिय बालक विकास थापाले आमाको न्यानो काख पाएका छैनन् । चिसो मौसममा न त न्यानो कपडा, नत राम्रो खाना । उनका लागि यी सबै अभावका विषय हुन् ।
खरले छाएको घर, वरिपरि बारेको छैन जहाँ बस्न बाध्य छन् विकास । “आमा कहाँ हुनुहुन्छ थाहा भएन, बाबाले रक्सी खाएर हिंड्नुहुन्छ,” जाडोमा काम्दै बसेका विकासले भने ।

कक्षा २ मा पढ्छु भन्ने विकास किताब, कपि जुटाउनु टाढाकै कुरा कति दिन छिमेकीकोमा मागेर छाक टार्न बाध्य छन् ।
रूपन्देहीको सैनामैना २ सोरौलीमा बस्दै आएका विकाससँगै उनका ३ दिदीहरूको अवस्था अहिले चिन्ताजनक रहेको छ । ७ वर्षिय मधु, ९ वर्षिय अन्जु र ११ वर्षिय सुष्मा पनि यसरी नै कष्टकर जीवन बिताउन बाध्य छन् ।

‘बाबाले खाली रक्सी खाएर हिड्नुहुन्छ, अहिले बिरामी भएर सुत्नुभएको छ,’ जेठि छोरी सुष्माले भनिन् । ‘मम्मी इन्डीया हुनुहुन्छ, फोनमा बाबालाई रक्सी खान नदे भन्नुहुन्छ, मैले भनेर मान्दै मान्नुहुन्न बाबा,’ उनी सुनाउँछिन् ।
‘मम्मी नहुँदा, भाइबहिनालाई खाना बनाउने खुवाउने गरेकी छु, कहिलेकाही चामल दाल नभए वल्तिर पल्तिर मागेर खुवाउँछु’, सुष्माले भनिन्– बाबाले सबै पैसा रक्सी खाएर सकाउनुहुन्छ ।’
परिवारमा जेठो छोराको रूपमा जन्म लिएका बिक्रम भने गत वर्ष नै कक्षा ८ को परीक्षा फम भर्न पैसा नभएपछि कामको खोजीमा भारत नै पुगेको स्थानीय बताउँछन् ।
छिमेकी भन्छन्, आमा घरमा नभएपछि कसले हेरचाह गर्ने, हामीले एक दुई दिन हेरेर मात्र भएन, बाबु रक्सी खाएर बस्छन् । भोकै टिठलाग्दो भएर बसेको देख्दा बोलाएर खाना खुवाउने गरेको छिमेकीको भनाई छ ।
भारतमा रहेका श्रीमान् परिवारको वास्ता नगरेपछि उनको खोजीमा भन्दै यी बालबालिकाकी आमा जमुना गत वर्ष भारत पुगिन् ।
जमुना भारतमै काममा लागेपछि उनका श्रीमान बच्चाहरूको हेरचाहका लागि घरमा आए । तर, साना बालबालिकाको हेरचाह गर्नुको सटट रक्सी खाने, उनीहरूको वास्ता नै नगर्ने गर्दा अहिले बालकालिका कष्टकर जीवन बिताइरहेका छन् ।