पोखराको यातायात कार्यालय परिसर बाट २९ जना बिचौलिया पक्राउ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

पोखराको यातायात कार्यालय परिसर बाट २९ जना बिचौलिया पक्राउ



पोखरा ।   पोखरामा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा सर्वसाधारण सेवाग्राहीसंग रकम असुल्ने र शंकास्पद गतिविधि गरेको आरोपमा आइतबार २९ जना बिचौलियाहरु पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय गण्डकी अन्र्तरगत रहेको पृथ्बिचोक स्थित रहेको दर्ता तथा नविकरण कार्यालय र ड्याम साइडस्थित रहेको लाइसेन्स वितरण शाखा परिसरबाट बिचौलियाहरु पक्राउ परेका हुन् ।

दुवै यातायात कार्यालयको परिसरमा बसेर सेवाग्राहीसँग सेवाको नाममा मनलाग्दो रकम असुलेको र शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले पृथ्बिचोकको कार्यालयबाट १९ जना र बैदामस्थित रहेको कार्यालय परिसरबाट १० गरी २९ जनालाई पक्राउ गरेको हो ।

 

यातायात कार्यालयमा कामका लागि आउने सर्वसाधारण सेवाग्राहीहरुलाई विभिन्न प्रलोभन देखाएर रकम असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बिचौलियाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए । ‘सेवाको नाउँमा सेवाग्राहीलाई अलमलमा पारेर आर्थिक फाइदा लिएको जनगुनासो आएपछि हामीले १० दिन देखि निगरानी गर्दै आएका थियौँ,’ एसपी सिंहले भने,–‘आइतबार हामीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक अपराध गन्तरगत मुद्दा अगाडि बढाएका छौँ ।’

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सार्वजनिक अपराध तथा सजाय ऐन बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।