जनकपुरमा रोकेको बसमुनि महिलाको शव फेला - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

जनकपुरमा रोकेको बसमुनि महिलाको शव फेला



जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। जनकपुर उपमहानगरपालिका ९ स्थित रामानन्द चोक, पानी ट्याङकीको गेट सामुन्ने बसको मुनि महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

मृतक महिला महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका वडा नं. ४ खुट्टा पिपराढी बस्ने अन्दाजी वर्ष ५१ कि रतियादेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शनिबार विहान मर्निङ वाकको क्रममा स्थानीयबासीले महिलालाई बसको मुनि मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जनकपुरकै रामानन्द चोकमा ठेलामा तरकारी बेच्ने ती रतियादेवी यादवको राति नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपी मध्यतराइका जिल्लामा केही सप्ताहदेखि बढेको चिसो तथा शितलहरका कारण कठ्यांग्रिएर मृत्यु भएका हुन सक्ने अनुमान भए पनि यकीन नभइसके पनि पोष्टमार्टमको रिपोर्टपछि मात्र केही भन्न सकिने धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। हाल महिलाको शवलाई परीक्षणको लागि जनकपुरस्थित अञ्चल अस्पतालमा राखिएको छ।