रूपन्देहीलाई प्रदेशको केन्द्र तोक्न माग - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

रूपन्देहीलाई प्रदेशको केन्द्र तोक्न माग



बुटवल । प्रदेश ५ को अस्थायी राजधानी दाङ तोक्ने प्रस्तावित खाका बनिरहेका बेला रूपन्देहीका राजनीतिक दल र नागरिक समाजले रूपन्देही तोक्न माग गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा एमालेको विशेष बैठकले रूपन्देहीलाई राजधानी तोक्न माग गरेको हो ।

भौतिक पूर्वाधार तथा जनघनत्वको हिसाबले समेत पाँच नम्बर प्रदेशको राजधानी रूपन्देही उपयुक्त हुने ठहर गर्दै सरकारले सुरुमा तोक्ने अस्थायी राजधानी रूपन्देहीमा तोक्न माग गरिएको छ ।

खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले पहाडी जिल्लाहरूलाई समेत पायक पर्ने तथा भौतिक पूर्वाधारमा समेत अगाडि रहेको रूपन्देहीलाई अस्थायी राजधानी तोकिनु पर्ने बताए । ‘धेरै जनसंख्यालाई पायक पर्ने क्षेत्रलाई राजधानी तोकिनुपर्छ’, रज्जाकले भने । उनको पार्टीको मंगलबार बसेको बैठकले समेत सोही निर्णय गरेको छ ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सञ्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्ता कारणले राजधानीका लागि रूपन्देही उपयुक्त हुने भएकाले सरकारले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी तोक्दा रूपन्देही तोकिनु पर्ने कांग्रेस सचिव रामकृष्ण खाँणले बताए ।

नेकपा एमालेले पनि रूपन्देहीलाई राजधानी तोक्न माग गरेको छ । केन्द्रीय सदस्य तथा प्रदेश सांसद लिला गिरीले सुविधा भूगोलले पाउने नभई सर्वसाधारणले लिने हुँदा जनसंख्याको आधारमा पायक पर्ने स्थान राजधानी हुनुपर्ने बताए । ‘धेरै जनताले जता सुविधा पाउँछन् त्यही राजधानी तोक्नु सरकारको दायित्व हुन्छ’, उनले भने– ‘रूपन्देहीमा कुनै पनि कार्यालयका लागि पूर्वाधारको समस्या छैन ।’

रूपन्देहीका सबै दलहरू राजधानी बनाउनुपर्ने विषयमा एकमत बनेका छन् । रूपन्देहीलाई केन्द्र तोक्ने पक्षमा प्रदेश संसदको बहुमत संख्या रहे पनि दुई तिहाई छैन । दुई तिहाई मत नपुग्ने भएकाले अस्थायी केन्द्र जहाँ तोकियो त्यहीँ नै राजधानी बन्ने सम्भावना अधिक रहेको छ ।

जिल्लाका व्यवसायिक संघ संगठनहरूले पनि आर्थिक केन्द्र रूपन्देहीलाई नै राजधानी बनाउनुपर्ने माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बुटवललाई राजधानी बनाउने विषयमा ६ वटा जिल्ला उद्योग वाणिज्य संघ एकमत रहेको बताए । ‘आन्दोलन गर्ने वातावरण सरकारले बनाउनु हँुदैन, दीर्घकालीन योजनासहित राजधानी तोकिनुपर्छ’, उनले भने ।

रूपन्देही उद्योग सघका अध्यक्ष दिनेशराज रेग्मीले प्रदेशको राजधानी हचुवाको भरमा तोक्न नहुने भन्दै रूपन्देही नै पहिलो विकल्प रहेको बताए । निर्माण भएको भौतिक संरचनाका आधारमा रूपन्देही कमजोर हुनै नसक्ने उनको तर्क छ ।रूपन्देहीलाई प्रदेश केन्द्र तोक्ने विषयमा साविक लुम्बिनी अञ्चलका ६ जिल्ला एकमत रहेका छन् । यी जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी झण्डै ५२ सांसद प्रदेश सभामा प्रतिनिधित्व गर्छन् । यो संख्या ८७ सांसदको दुई तिहाई होइन ।
राजनीतिक दलका नेताहरूले रूपन्देहीलाई केन्द्र नतोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।