बुटवल महोत्सवमा खचाखच दर्शक - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

बुटवल महोत्सवमा खचाखच दर्शक



बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा पुष ६ गतेदेखि सञ्चालित १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मा शनिवार प्रदर्शनीस्थलमा दर्शकहरुको ओइरो लाग्न पुग्यो । शनिवार तथा सार्वजनिक विदा तमु ल्हेसार परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको थियो ।
प्रदर्शनी सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन प्रदर्शनी अवलोकन गर्न १ लाख ५० हजार दर्शक मण्डपमा प्रवेश गरेका थिए । प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजककोतर्फबाट टिकट काउन्टर बाहिर प्रदर्शनी गेट अगाडी ४ स्थानबाट टिकट विक्री गरिएको थियो । प्रदर्शनी हेर्न अवलोकनकर्ताहरु विहान दशै वजेदेखि टिकट काउन्टरमा लाइनमा बसका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनी स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । शनिवार प्रदर्शनी अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।
दर्शकहरुको उपश्थितिले हाम्रो आयोजना पूर्ण सफलतातर्फ अगाडि बढेको विश्वास व्यक्त गर्दै मुल समितिका संयोजक दिनेशराज रेग्मीले आफुहरुलाई उत्साहित बनाएको बताउनु भयो । उहाले उद्योग संघको प्रदर्शनी सधै ऐतिहासिक बन्ने गरेको जिकिर गर्दै यस पटकको प्रदर्शनी पनि उचाईमा पुगेको दावी गर्नुभयो ।
प्रदर्शनी हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टरबाट टिकट विक्री कार्य पटक पटक स्थगित गर्नु परेको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले बताउनु भयो । मण्डपको क्षमताभन्दा बढी दर्शहहरुको घुइचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डपभित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा जम्मा हुन बाध्य थिए । स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो ।
प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव माधव पौडेलका अनुसार आज प्रदर्शनीमा उर्लेको दर्शकहरुको भिडले प्रदर्शनीको जननी रुपन्देही उद्योग संघलाई दर्शकहरुको अपार मायाले कामका लागि हौसला थपेको बताउनु भयो । पौडेलले प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई सकेसम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा गम्भिर बनेको बताउँदै कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँका अनुसार शनिवार करिव २ करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको छ ।
प्रदर्शनीमा भिड बढेपछि सुरक्षाको पाटो निकै गम्भिर बन्ने हँुदा त्यसमा आफुहरुले निकै सचेत र चनाखो भएर काम गरेका कारण कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षति हुने घटना नभएको सुरक्षा व्यवस्था समितिका संयोजक शिवप्रसाद अधिकारीले बताउनु भयो । उहाँले सुरक्षा व्यवस्था कायम गर्न प्रदर्शनीमा खटी सहयोग पु¥याएकोमा सुरक्षा निकायका सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।
प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेको छ । प्रतियोगिताको फाइनल आइतवार हुने भएको छ । फाइनलमा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान स्याङ्जा ए र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान स्याङ्जा वी का वीच प्रतिष्पर्धा हुने छ ।
ज्याकोर प्रदर्शनी आइडल–२०७४ प्रतियोगिता अन्तरगत अन्तिम टप ५ गायकको प्रस्तुती भएकोमा एक जना प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवार प्रतियोगितामा टप ५ सम्म पुगेकी एकमात्र महिला गायक एलिना पुन भोटिङका आधारमा प्रतियोगिताबाट बाहिरिएपछि टप ४ को प्रस्तुति भएको छ । प्रतियोगितामा निरज थापा, शुशिल आचार्य, आकाश झा र अभिषेक विक रहेका छन् । आरसिआई ट्यालेन्ट हन्ट प्रतियोगिताको आज भएको फाइनलमा सुर्दशन एण्ड अमर (पेन्टिङ) प्रथम, कृष्ण थापा (विग बोस) दोस्रो र विएन १३ क्यू (डान्स) तेस्रो भएको आरसिआई ट्यालेन्ट हन्ट कार्यक्रमका संयोजक लोकेन्द्र शाहले बताउनु भयो ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार चर्चित गायक खुमन अधिकारी, गायिका राधिका हमाल, दोहोरी गायक दिपक गरौजा, गायिका प्रिया भण्डारी, गायक तथा संगितकार विधान कार्की, एक खुट्टे डान्सर रोमा न्यौपाने लगायतको प्रस्तुती रहेको थियो । आइतवार चर्चित गायक बैकुण्ठ महत, चर्चित गायिका मञ्जु पौडेल, आधुनिक गायक रुपक डोटेल, दोहोरी गायीका सिलु भट्टराई, दोहोरी गायक पुरुषोत्तम गैरे, गायक शिव खनाल, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) तथा क्यारिकेचर दिपेन्द्र वली लगायतको प्रस्तति रहने छ ।
उद्योग संघले उपत्यका बाहिर पहिलो पटक २०४५ सालमा बुटवलमा प्रदर्शनीको आयोजना गरेको हो । जारी प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारिकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, आकर्षक रेष्टुरेन्टहरू र कृषि ग्राम सञ्चालन भएका छन् । प्रदर्शनीको करिव ६ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अनुमान गरिएको छ ।