ओलीले गोठालो हुँ भनेपछि एमालेसंग यसरी रिसाए प्रचण्ड - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीले गोठालो हुँ भनेपछि एमालेसंग यसरी रिसाए प्रचण्ड



काठमाडौं-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् ।

कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’

सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ उनले अघि भने ।

अोलीले नेपाल स्थिरता र स्थायित्वमा प्रवेश गर्‍यो भनेर पनि दाबी नगर्ने बताए । उनले भने, ‘त्यस एरातर्फ प्रवेश गर्‍यो । अलमल गर्ने होइन, हामी गम्भीर हुन जरुरी छ ।’ ओलीले काठमाडौंमा यसो भन्दै गर्दा प्रचण्ड भने नवलपरासीमा एमालेसंग रिसाएका छन् ।

किन रिसाए एमालेसंग प्रचण्ड ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए ।

नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले तेस्रो भएपनि माओवादी निर्णायक रहेको बताए ।

‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कसैको नाम नलिई भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’

तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ ।

यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ ।

‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने अबस्था छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’