स्थानीय तहमा कर्मचारीको स्थिति, कार्यकारी किन रिक्त ?
स्थानीय विकास मन्त्रालयले तीन हजारको संख्यामा खरदार र सुब्बा तहका कर्मचारी पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । अधिकांश स्थानीय तहका वडा कर्मचारीविहीन रहेकाले काम गर्न नसकेको भन्दै स्थानीय विकास मन्त्रालयले सामान्यलाई त्यस्तो पत्राचार गरेको हो ।
स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका अधिकृत रवीन्द्रजंग थापाका अनुसार अधिकांश स्थानीय तहमा कर्मचारी अभाव छ । मन्त्रालयले अहिले ५२ वटा गाउँपालिका कार्यकारी अधिकृतविहीन रहेको जनाएको छ ।आजको नयाँ पत्रिकामा यो खबर छ ।
यस्तै, ५९ वटा नगरपालिकामा शाखा अधिकृतले निमित्त कार्यकारी भएर काम गरिरहेका छन् । २१ वटा नगरपालिका कार्यकारीविहीन छ । ठूलो संख्याका स्थानीय तहमा कार्यकारी अधिकृत नभएका वेला प्रदेश राजधानीमा जान भन्दै कर्मचारीले निवेदन दिएका हुन् ।
स्थानीय तहको कार्यकारी किन रिक्त र ?
दुर्गम क्षेत्रमा रहेका स्थानीय तहमा कर्मचारीहरू दुर्गम जान नचाहेको मन्त्रालयको जनाएको छ । अधिकांश कर्मचारीको काठमाडौं तथा अन्य ठूला सहरमा घर रहेकाले उनीहरूले अनिच्छा देखाएका हुन् ।
सोही कारण सयभन्दा बढी स्थानीय तह कार्यकारीविहीन बनेको हो । यस्तै, कर्मचारीमा समायोजन गर्दा अहिले खटाएका ठाउँमा परिने हो कि भन्ने डर पनि छ ।