माओवादीको निष्कर्ष: सरकार गठनअघि एकताको खाका - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

माओवादीको निष्कर्ष: सरकार गठनअघि एकताको खाका



प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद नछोड्न दाहाललाई पार्टीभित्रबाट दबाब

एकतालाई बढी प्राथमिकता दिएर जानुपर्छ, जनमत पनि त्यहीअनुसार आएको छ’

माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

चुनावपछि पहिलो पटक बसेको पार्टी मुख्यालयको बैठकले पार्टी एकता गर्ने सहमतिको बलमै वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा विजय हासिल गरेको ठहर छ ।

‘पार्टी एकताको मोटो खाका सरकार गठनअघि नै तयार गर्नेतर्फ लाग्नुपर्छ,’ बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामीले एकताको कुरालाई बढी प्राथमिकता दिएर जानुपर्छ, जनमत पनि त्यहीअनुसार आएको छ ।’

एमाले र माओवादीबीच चुनाव सकिएलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति भएको थियो । तर एकताको मोडलबारे औपचारिक रूपमा केही उल्लेख भएको थिएन ।

सरकार बन्ने बेलामा नै त्यो विषयलाई टुंग्याउँदा दुवै दललाई एकता प्रक्रियामा सहज हुने भएकाले त्यसमा पार्टी नेतृत्वले जोड दिनुपर्ने धारणा अन्य नेताले पनि बैठकमा बताए ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले पनि सरकार पहिले र पार्टी एकता पछि गर्ने भन्ने कुरा गर्न नहुने धारणा आएको जानकारी दिइन् । ‘दुवै काम सँगसँगै गर्नुपर्छ,’ उनले भनिन् । यो खबर आजकोकान्तिपुरमा छ ।