मेडिकल लिटेरेचर मेला सम्पन्न - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मेडिकल लिटेरेचर मेला सम्पन्न



पुष १, काठमाडौँ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूको पहलमा मेडिकल लिटेरेचर मेला २०१७ आज राष्ट्रिय सांस्कृतिक संस्थानमा सम्पन्न भयो ।

डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा प्रा. डा. गोविन्द केसीले यात्रा अनुभव तथा यात्राका तस्बिरहरू प्रस्तुत गर्नुभएको थियो । डा. रामेश कोइरालाले जबसम्म साहित्यले आर्थिक निर्भरता कायम गराउन सक्दैन तबसम्म साहित्य पेसाको रूपमा विकसित हुन गाह्रो रहेको बताउनुभयो ।

वरिष्ठ लघुकथाकार डा. रवीन्द्र समीरले थोरै शब्दमा धेरै भन्न सक्ने लघुकथा विधा चिकित्सक एवम् स्वास्थ्यकर्मीको लागि उपयोगी हुने बताउँदै आफ्ना लघुकथाहरु वाचन गर्नुभएको थियो ।

लेखक डा. सरोज धितालले हरेक पेसामा कला र करुणा हुनुपर्ने बिचार व्यक्त गर्नुभयो । डा. सुमन कर्माचार्य, डा. सुवास प्याकुरेल, कवयत्री सुलोचना मानन्धर तथा जनक पौडेल कविता वाचन गर्नुभएको थियो भने लेखिका राधा पौडेलले निर्माण गर्नुभएको छाउपडी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

आयोजकको तर्फबाट बिशद ढकाल तथा प्रतिभा सुबेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा आविष्कार चापागाई, कृतिका कार्की, अर्जुन घिमिरे, प्रज्वल घिमिरे, अच्युतशाली घिमिरे लगायत विभिन्न मेडिकल कलेजका बिध्यार्थीहरुले आफ्ना रचना वाचन गरेका थिए । सांस्कृतिक संस्थानका निर्देशक राजेश थापाले साहित्यिक चिकित्सकहरुको कार्यक्रम निकै अनुकरणीय भएको बताउनुभयो ।