जनताका अधिकारलाई कुण्ठित नगर्न दलहरुलाई शान्ति समाजको आग्रह - Himal Post Himal Post
  • १४ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 30 2024
Logo

जनताका अधिकारलाई कुण्ठित नगर्न दलहरुलाई शान्ति समाजको आग्रह



बुटवल : जनतासामु बिगतका निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न तथा संबिधानमा उल्लेख भएका मौलिक अधिकारलाई कुण्ठित नगर्न सम्पुर्ण राजनैतिक दल तथा नेताहरुलाई आग्रह गरिएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा आज बुटवलमा सम्पन्न नागरिक सेतु अभियान अन्तर्गत राजनैतिक दल र आम जनतालाई जोड्ने कार्यक्रममा बोल्ने बक्ताहरुले सो आग्रह गरेका हुन ।

सन्दर्भ प्रतिनिधी सभा÷ प्रदेश सभा निर्वाचन २०७४ ः राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रबिन्दुमा राख्न आग्रह बिषयक नागरिक सेतु कार्यक्रममा बोल्दै बरिष्ठ मानव अधिकारकर्मी नेता कृष्ण पहाडीले लोकतन्त्र मास्ने कुनैपनि षडयन्त्र नगर्न आग्रह गरेका छन । जनताका अधिकारलाई केन्द्रमा राखेर दलका घोषणा पत्र र उम्मेदबारका कार्ययोजनामा मानव अधिकार र लोकतन्त्रका आधारभुत सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ने कुरामा पहाडीले जोड दिएका थिए ।

नेपालको राजनीति धनवल र बहुवलबाट चलेको उल्लेख गर्दै बरिष्ठ मानव अधिकारबादी नेता पहाडीले राजनीति धनबल र बाहुवलबाट चलैकै कारण अपराधी र भ्रष्टचारीहरुको बोलवाला बढेको बताए । अपराध र भ्रष्टचारमा मुछिएकाहरुलाई राजनीतिक दलका नेताहरुबाट संरक्षण भएकाले समाजमा अराजकताले ठाउं पाउने गरेको पनि पहाडीले बताए । नेपालको हालको चुनाव निकै खर्चिलो भएकाले चुनावलाई खर्चिलो बनाउन नहुने उल्लेख गर्दै नागरिकलाई स्वतन्त्र रुपमा मत दिने वातावरण बनाई दिन राजनीतिक दललाई आग्रहका साथ चुनावमा अनावश्यक खर्च गरेर गलत संस्कृतिको बिकास नगर्न समेत आग्रह गरेका थिए ।

पहाडीले निर्वाचन आयोगले तयार पारेको आचारसहिंता पालना नगर्ने दललाई कारवाही गर्न निर्वाचन आयोगलाई आग्रह गरे । उनले विगतका निर्वाचनहरुमा निर्वाचन आयोगले आचारसहिंता उलंघन गर्ने राजनीतिक दललाई कारवाही गर्न नसकेकाले निर्वाचनको समयमा अराजक गतिविधि हुने गरेको बताए । संसदबाट समस्या समाधान खोज्नु पर्ने बताउंदै उनले सत्ता केन्द्रित राजनीतिले समस्या समाधान हुन नसकेको उल्लेख गरे ।
सत्ता केन्द्रित राजनीतिमा लागेका दलका नेतामा स्वाभिमान नरहेको बताए । अव निर्वाचन नरोकिने र निर्वाचन भाड्ने काम नगर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्दै उनले निर्वाचनपछि भारत र चीनको सरकार पनि बन्न नहुने बताए । द्वन्द्वकालमा कब्जा गरिएका नागरिकका घरजग्गा फिर्ता गर्न र गराउन आग्रह गर्दै अझैपनि नागरिकका घरजग्गाहरु फिर्ता नभए देशमा अर्को समस्या आउन सक्ने बताए ।
उनले राजनीतिक दलले आरोप प्रत्यारोपको राजनीति छोड्नु पर्ने र आरोप प्रत्यारोपको राजनीति नछोडे आन्तरिक र बाह्य शक्ति आन्तरिक एकता, अखण्डता माथि चलखेल गर्न सक्ने बताए ।
निर्वाचनको मुखमा सत्ता केन्दिरुत गरेर बनेका लोकतान्त्रिक र वाम गठबन्धनहरु टुट्न सक्ने बताए । उनले गठबन्धनको नाममा घरपरिवारलाई समेटिएकाले यस्ता गठबन्धनहरु धेरै नटिक्ने दावी गरे । संविधानले अधिकार दिएपनि राजनीतिक दलले महिलाहरुलाई अधिकार दिन नसकेको बताए । पहाडीले महिलाहरुलाई अधिकार दिन बिभिन्न दलका नेताहरुले कन्जुसाई गरेको आरोप लगाए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति डा. गंगाधर अधिकारीले संविधान संशोधन गरेर असहमतिका पक्षलाई पनि सम्बोधन गर्नुपर्ने बताए । मानव अधिकार, स्थायी शान्तिको पक्षमा हिंसा र अराजकताको विरुद्वमा शान्ति समाजले देशभर नागरिक सेतु अभियान चलाएको जानकारी उनले गराए ।

कार्यक्रममा समाजमा केन्द्रिय उप सभापति गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कंडेल, नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराई, नेपाली कांग्रेसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, माओवादी केन्द्रका जिल्ला सह ईन्चार्ज पुरन गुरुङ्ग, नेकपा बिप्लव समुहका शरद ओली, महिला अधिकारकर्मी सावित्रा अर्याल, राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्वि नारायण शाहनी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, नेपाल घरवहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईराला, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, नेपाल रोडा ढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही उद्योग संघका महासचिव माधव पौडेल, समाजका जिल्ला सभापति हरिष ढकाल, उपसभापति डिपी खनाल, सचिव तेजेन्द्र केसी लगाएतले नेपालमा मानव अधिकार को अवस्था र शान्ति समाजको भुमिका बारे चर्चा गरेका थिए ।