अर्घाखाँचीमा बाम गठबन्धनले सार्वजनिक गर्‍यो चुनावी कार्यक्रम, तात्यो चुनावी माहोल । - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

अर्घाखाँचीमा बाम गठबन्धनले सार्वजनिक गर्‍यो चुनावी कार्यक्रम, तात्यो चुनावी माहोल ।



कमल बिस्ट,अर्घाखाँची /कार्तिक १७

उमेदवारी दर्ता सँगै अर्घाखाँचीका राजनीतिक दलहरू चुनावी रणनीति बनाउनमा व्यस्त भएका छन् । दलहरूले जिल्ला स्तरमा बैठक बसी चुनावी कार्यक्रम र योजना निर्माण गरिरहेका छन् । उनीहरूले प्रचारको काम लाई व्यवस्थित गर्न विभिन्न समिति तथा उपसमितीहरु निर्माण गरेका छन् ।

जिल्लामा पहिलो पटक वामपन्थी गठबन्धनले आफ्नो चुनावी कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर २१ को प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव लक्षित कार्यक्रम सार्वजनिक गरेको हो ।
वाम गठबन्धनले माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको संयोजकत्वमा ३७ सदस्यीय निर्वाचन परिचालन समिति को निर्माण गरेको छ । समितिमा एमाले र माओवादीका केन्द्र तथा जिल्ला स्तरका नेताहरू रहेका छन् ।

समितिको सहसंयोजकमा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ,सचिवमा एमाले जिल्ला सचिव रामबहादुर चौहान तथा सदस्यमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वल,बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.१ का उमेदवार तथा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य, बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.२ का उमेदवार तथा एमाले पूर्व जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे,पूर्व सांसद द्वय डा.डिल्लीराज खनाल,डा.दुमन सिंहथापा,एमाले नेताहरू बुद्धि बहादुर रायमाझी,लक्ष्मण रायमाझी ,नरेन्द्र कुमार क्षत्री,पिताम्बर भुसाल,जिबनारायण कोइराला,प्रेमनारायण गैरे,बुद्धिराम भुसाल,जनार्दन खनाल,कुटम दिन अलि,माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बि.क.,सहसंयोजक द्वय तोजबहादुर रायमाझी,छमकुमारी खनाल,नेताहरू राजेन्द्र भुसाल,रामलाल पराजुली लगायत छन् ।

वाम गठबन्धनले विभिन्न अन्य समिति हरुको समेत निर्माण गरेको छ । जसअनुसार माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वलको संयोजकत्वमा ५ हजार १ सय ५१ सदस्यीय चुनाव प्रचार समिति बनाइएको छ । समितिको सहसंयोजकमा एमाले जिल्ला उपाध्यक्ष जिबनारायण कोइराला छन् । यसै गरी नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ को संयोजकत्वमा ७ सदस्यीय अधिकार सम्पन्न अनुगमन समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वल छन् । अन्य समितिमा आर्थिक समितिको संयोजक पिताम्वर भुसाल,सहसंयोजक ठाकुर कुमार बि.क.,प्रचार सामग्री उत्पादन तथा वितरण समितिको ,संयोजक ठाकुर कुमार बि.क र सहसंयोजकमा पे्रमनारायण गैरे,युवापरीचालन समितिको संयोजक रामबहादुर चौहान र सहसंयोजक तोज बहादुर रायमाझी,सञ्चार समन्वय समितिको संयोजकमा हिमबहादुर जी.सी.लेकाली र सहसंयोजकमा गणेश खनाल रहेका छन् ।

वाम गठबन्धनले कार्तिक २३ गते देखी मङ्सिर १८ गते सम्मका चुनावी सभा तथा भेटघाट कार्यक्रम समेत सार्वजनिक गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वलको अध्यक्षता र एमाले सचिव रामबहादुर चौहानको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी,एमालेका केन्द्रीय सदस्य नजिर मियाँ, बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.१ का उमेदवार तथा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य, बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.२ का उमेदवार तथा एमाले पूर्व जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे लगायतका बक्ताहरुले मन्तव्य राख्दै मुलुकको राष्ट्रिय अखण्डताको रक्षा,आर्थिक सम्बृद्धि,दिगो विकास र राजनीतिक स्थिरताको लागि बापन् सरकारको खाँचो औल्याए ।