एमाले–माओवादी कम्युनिष्ट हैनन् :विजुक्छे - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

एमाले–माओवादी कम्युनिष्ट हैनन् :विजुक्छे



काठमाडौं /कात्तिक १७ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले युवा पुस्तालाई अगाडि बढाउनका लागि आफू चुनावमा नउठेको बताएका छन् । जनताको चाहना युवा पुस्ता भएकाले युवाहरु नै नेमकिपाले उठाएको प्रतिक्रिया दिएका हुन् ।

विजुक्छेले भने, ‘म ७६ वर्षको भएँ अब त कति चुनावमा उठ्नु ? युवाहरुले बिँडो थाम्नुपर्यो नि ।’

उनले यसपटक विश्वविद्यालय पढेका एकदम फ्रेस युवाहरु उम्मेदवार बनेको बताए । उनले भने, ‘सरकारले मान्यता दिने भए त विश्वविद्यालय नै चलाउने थिएँ नि । सबै पिएचडीधारी राख्थ्यौं राजनीति शास्त्र पढेका, विज्ञान पढेका, नेपाली पढेका धेरै युवा समेटिएका छन् ।’

राष्ट्रिय दल बन्न तीन प्रतिशत ल्याउने भन्नेबारे उनले भने, ‘हामी जातको, भाषाको कुरा गर्ने पैसा गर्ने हामी गर्दैनौं, हामी गुणमा विश्वास गर्छौं, संख्यामा विश्वास गर्दैनौं ।’

नेता विजुक्छेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनलाई कुनै वाम वा कम्युनिष्ट नभइ सत्ताकोमात्र गठबन्धन भनेका छन् । उनले भने, ‘उनीहरु वाम पनि हैनन्, कम्युनिष्ट पनि हैनन्, उनीहरु कम्युनिष्ट भएका भए हरेक कुरामा सम्झौता गर्दै अगाडि बढ्थे र ?’
उनले अगाडि थपे, ‘कम्युनिष्ट भनेको सरकारमा आएपछि मजदुरको हक हितको कुरा गर्नुपर्छ, उनीहरुका माग पुरा गर्नुपर्छ, तर गरेनन्, त्यसैले हामीले सदनदेखि सडकसम्म उनीहरुको विरोध गर्यौं ।’

विजुक्छेले भने, ‘एमाले–माओवादी सत्ताका लागि मात्र मिलेका हुन्, कम्युनिष्टको कुनै गुण छैन, यिनीहरु भाइ काँग्रेस हुन् ।’

विजुक्छेले चुनावमा नेमकिपाले वास्तविकता के हो त्यसैलाई नै अगाडि बढाएर जाने प्रतिक्रिया दिए । उनले एमाले–माओवादीको चुनावी लक्षण राम्रो नभएको पनि जनाए ।