पार्टीकै निर्णयमा वाम गठबन्धन बिरुद्ध माओवादीको बागी उम्मेदवार - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

पार्टीकै निर्णयमा वाम गठबन्धन बिरुद्ध माओवादीको बागी उम्मेदवार



सल्यान ।

केन्द्रमा बनेको चुनावी गठबन्धनलाई चुनौती दिँदै माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मा, उमाकान्त शर्मा, ज्ञानबहादुर ओली र र जीतबहादुर पुनले बिद्रोही उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी छनोटबारे नेकपा एमाले र माओवादी केन्द्रले गरेको आधिकारिक निर्णयलाई नमान्ने बताउँदै उनीहरुले जिल्ला पार्टीको निर्णयअनुसार नै उम्मेदवारी दिएका हुन् ।

उमाकान्त र ज्ञान बहादुरले आफ्नै पार्टीका प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका छन् भने शर्मा र पुनले एमाले उम्मेदवारविरुद्ध ।

“जिल्ला पार्टीको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ । म बागी होइन, बिद्रोही उम्मेदवार हुँ” उम्मेदवारी दर्तापछि भीमप्रकाश शर्माले भने । पार्टी केन्द्रले जनताको भावनाको कदर नगरेका कारण जिल्ला पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको उनले बताए ।

पार्टीको निर्देशनपछि फिर्ता लिनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका शर्माले भने, “यो शब्द नै ननिकाल्नुस्, फिर्ता होइन हामी जितेर देखाउँछौँ” भने । उनले जनयुद्धमा सल्यानमा जनताको लगानी, बलिदानको अपमान हुने गरी दुबै क्षेत्र एमालेलाई सुम्पेका कारण आफूहरुले उम्मेदवारी दिएको बताए । शर्माले जनता र सहिद परिवारको आग्रहमा आफूहरुले उम्मेदवारी दर्ता गराएको बताए ।

पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दिनुभयो, जित्ने आधार के हो ? भन्ने प्रश्नमा शर्माले भने, “सल्यान जनयुद्धको आधार क्षेत्र हो, माओवादीकै नेतृत्वमा ठूलो बलिदानी भएको छ, जनताको आग्रहअनुसार हामीले उम्मेदवारी दिएका हौँ । जनताको भावना नै हाम्रो जित्ने आधार हो ।”

पोलिटव्यूरो सदस्य शर्माले प्रदेशसभाको क्षेत्र नम्बर (क) बाट विद्रोही उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेका नेता गुलावजंग शाह उम्मेदवार बनेका छन् ।

त्यसैगरी प्रदेशसभाको (ख) मा माओवादी केन्द्रका जीतबहादु पुनले उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् ।

केन्द्र पार्टीले वितरण गरेको उम्मेदवारीप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सल्यानको आपत्तकालिन बैठकले प्रदेशका दुबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

एमाले–माओवादी केन्द्रले संघमा माओवादी केन्द्र र दुबै प्रदेश एमालेलाई दिने सहमति भएको थियो । विद्रोही उम्मेदवारी दर्ता गराएका सबै नेताहरु सल्यानमा माओवादीको संस्थापक हुन् ।

सल्यानमा नेकपा एमाले र माओवादी केन्द्रबिचको बामगठबन्धनलाई झट्का लाग्ने भएको छ । बामगठबन्धन विरुद्ध माओवादी भित्रको असन्तुष्ट पक्षले वागी उम्मेदवारी दिएपछि बामगठन्धनलाई झट्का लाग्ने भएको हो ।

माओवादी केन्द्र सल्यानले प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँटफाँटमा अन्याय गरेको भन्दै एक प्रेस विज्ञप्ती जारी गर्दै वागी उम्मेदवारी दर्ता गराएको छ ।

बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनु भएका माओवादी केन्द्रका टेक बहादुर बस्नेतका विरुद्ध पुर्व सभासद पुर्व सभासद  तथा माओवादी नेताद्धय उमाकान्त शर्मा ज्ञान बहादुर ओलीले  उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै प्रदेश क मा एमालेका गुलाव जंग शाह बामपन्थी गठबन्धन विरुद्ध माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य भीम प्रकाश शर्माले बागी उम्मेदवार बन्नु भएको छ ।

प्रदेश ख मा एमालेका प्रकाश ज्वाला बाम गठबन्घनका विरुद्ध माओवादी केन्द्रका जीत बहादुर पुनले वागी उम्मेदवारी गराउनु भएको छ ।

प्रतिनिधि सभाका वागी उम्मेदवार उमाकान्त शर्मा माओवादी जनयुद्धको समयमा जिल्लाबाट एक्लै होलटाइमर कार्यकर्ताको रुपमा भूमिगत थिए भने भीम प्रकाश शर्मा माओवादी सल्यानको संस्थापक सदस्य हुन।

दुवै नेता मतदाता लगायत अन्य पार्टीले पनि विश्वास गर्ने भएकाले बाम गठबन्धनलाई धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।